काँग्रेसद्वारा ‘राजधानी र नामाकरण’ विषयमा प्रदेशसभा बैठक अवरुद्ध

179

माघ २२,
बुटवल– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ५ नम्बर प्रदेशसभा बैठक आज पनि अवरूद्ध गरेको छ । यसअघि १८ गते डा.गोविन्द केसीको मागको बिषयलाई लिएर संसद अवरुद्ध गरेको काँग्रेसले आज प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्न गठन भएको विशेष समितिले काम नगरेको भन्दै बैठक अवरूद्ध गरेको हो ।

३ महिना अगाडि समितिको संयोजकमा दीपेन्द्रकुमार पुन नियुक्त भएका थिए । तर समितिले स्थायी राजधानी र नामाकरणका लागि सुझाव संकलन गर्नुको साटो जालझेल गरेर लम्ब्याउन खोजको भन्दै बैठक अबरूद्ध गरेको कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जानकारी दिए ।

सुझाव संकलन गर्न गठित १५ सदस्यीय समिति छ । जसमा रूकुम पूर्व, नवलपरासी र बाँके जिल्लाका प्रतिनिधिहरू छैनन् । समितिमा सबै जिल्लाका सांसदहरूको प्रतिनिधित्व गराउन समितिले तयारी गरेको छ ।

समितिमा सदस्य थपका नाममा राजधानी टुंगो लगाउने विषयलाई लम्ब्याउन खोजिएको भन्दै त्यसको विरूद्ध आफूहरू बैठक अवरूद्ध गरेको पोखरेलले बताए । काँग्रेसको अवरोध पछि संसदको अर्को बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ ।