कविता: हौ कुङ्ग्बा

289
तस्विरः लेखिका जानु काम्बांग लिम्बू

जानु काम्बाङ्ग लिम्बू,

हौ कुङ्ग्बा !
ऊ त्यो खोला पारी
आँखैले नभ्याउने डाँडामा
रगत बेगरको
एउटा सेतो मान्छे उभिएको देख्छु नि
तिमीलाई थाहा छ
उ कहिले देखि उभिएको हो ?

पक्कै पनि
उसले त्यहाँ बाट
रातारात जंगे पिल्लर वरवर सारेको
देखेर…खबरदार ! भन्दै
चिच्याएको हुनु पर्छ !

अचानक गाउँबाट
हराई गएका
जून, तारा र घामलाई पनि
जंगे पिल्लर जस्तै
लडाउँदै, उठाउँदै, घिसार्दै र ठेल्दै
सिमाना कटाईरहेको देखेको हुनु पर्छ ।

हौ कुङ्ग्बा !
तिमीले कहिले
सोधेको छौ के ?
त्यो रमिते डाँडालाई
रात, रातभर हुलका, हुल
सिमाना कटाईएका
गोरू र राँगाहरू कहाँ पुग्छन् ?

अनि हौ कुङ्ग्बा….
त्यो एकान्त पहाड
फ़ालेलुङ्गलाई साँची राखेर
फर्की आउने बाचा गर्दै
पारी तरेका पुर्खाहरू
पनि फर्केनन् भन्छन् नि ?

टिस्टा खोला ईमानसाथ तारेको रे
अलैंची र सुन्तलाको भारि
त्यो कुरो थिक….सोध है कुङ्ग्बा
सम्झना छ कि छैन त्यो पहाडलाई

भन्थे, त्यो बेला त
मेची होइन टिस्टा पो
थियो रे हौ हाम्रो सिमाना
डार्जिलिङ्ग र सिक्किम
थिए रे नेपालमा ।

हौ कुङ्ग्बा
अम्भा….यस्तो कुरो थिक
सुन्दा रेला जस्तो सिक मात्र
लाग्छ हौ अचेल त…
तर साङ्ग ज्यासांग
उहिले.. उहिलेको कुरो
ईतिहास भन्छन्
चितांग सिर…. ?

ताप्लेजुङ्ग, हाल: युके ( अक्सफोर्ड)