उच्च हिमाली क्षेत्रको पानी विदेशमा निर्यात गर्न सकिन्छ

91

माघ २४,
काठमाडौँ- 
नेपालको पानी विदेश निर्यात गर्न के कस्ता समस्याहरु छन् ?
नेपालको पानी विदेश निर्यात गर्न राज्यले पानीको मापदण्ड निर्धारण गर्नु पर्दछ । विशेष गरी सिप्रिङ्ग वाटर, मिनरल  वाटर र प्रोसेसिङ्ग वाटरमा हाल सम्म मिनरल वाटर र सिस्पीङ्ग वाटरको मापदण्ड तयार नगर्दा उच्च हिमाली क्षेत्र तथा हिमाली क्षेत्रको सिस्पीङ्ग वाटर मिनरल वाटर उत्पादन गरी विदेशमा निर्यात गर्न वातावरण सृजना भएको छैन ।
यसका लागि तपाईहरुले केही पहल गर्नु भएको छ ?
हाम्रो छाता संगठन नेपाल वोतल वाटर उद्योग संघ मार्फत विभिन्न समयमा उद्योग मन्त्री, कृषि मन्त्री लगायत खाद्य प्रविधि तथा गुणस्तर विभाग, वाणिज्य विभाग, नापतौल विभाग लगायत सरकारी निकायमा उद्योगको समस्याहरु गुणस्तर मापदण्ड वारेमा छलफल गर्दा सकारात्मक देखिएता पनि समस्याको समाधान गर्न सकेको अवस्था छैन ।
राज्यको तर्फ बाट केहि प्रयत्न भएको छैन ?
हाम्रो देश प्राकृतिक रुपमा अत्यन्त धनी देश हो । जसमा पनि पानीको झन महत्व छ । यसको उचीत र सही ढंग वाट प्रयोग गर्न सक्दा निर्यातको प्रमुख वस्तुको रुपमा उभ्याउन सक्ने अवस्था छ । निर्यातको प्रवल सम्भावना हुँदा हुदै पनि प्राविधिक र वैज्ञानिक हिसावले छलफल गरी पानीको व्यवसायलाई गुणस्तरीय, व्यवस्थित तथा क्षमता वृद्धि गर्ने कार्यका लागि राज्यको ध्यान केन्द्रित हुन सकेको छैन ।
यस सन्दर्भमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भुमिका कस्तो रहेको छ ?
प्रमुख रुपमा मापदण्ड निर्धारण गर्ने विषयमा विभिन्न समयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा प्रशासनिक र प्राविधिकहरु सँग छलफल गर्दा यो विषय आवश्यक ठान्नु हुन्छ । तथापी उद्योगी व्यवसायीका जायज मागहरुको संवोेधन हुन सकिरहेको छैन । जसका कारण व्यवसायीक प्रगती गर्न र निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न बाट बञ्चित हुनु परेको अवस्था छ । निर्यात गर्न सक्ने वस्तु भएता पनि राज्यको इच्छा शक्तिको कमीले गर्दा यस उद्योगको समस्याहरु समाधान गर्न सकिएको छैन । अस्वच्छ प्रतिस्पर्धाको कारण गुणस्तर कायम गर्न कठिनाई भएको छ । यसको नियन्त्रण गरी गुणस्तर कायम गर्न राज्यका निकायहरु सक्रिय हुदा मात्र उपभोत्ताले स्वच्छ र गुणस्तरीय पानी पिउन पाउने अवस्था सृजना हुन्छ भने व्यवसायीक विकासमा पनि सहयोग पुग्न जान्छ ।
निर्यातको लागी व्यवसायहरुको सामुहिक प्रयासको आवश्यकता कतिको देख्नु हुन्छ ?
यो उद्योग व्यवसायमा लागेका उद्योगी, सरकारी निकाय र प्राविधिकहरुको साझा प्रयास बाट राष्ट्रियस्तरको उद्योग निर्माण गरी माउन्टेन एभरेष्ट लगायत हिमाली क्षेत्रको पानी उपयोग गरी विभिन्न विकसित राष्ट्रमा उच्च गुणस्तरको सिस्पीङ्ग वाटर वा मिनरल वाटर उत्पादन गरी निर्यात गर्न सकिन्छ । जस वाट नेपालले प्रमुख विदेशी मुद्र आर्जन गर्न सक्ने उद्योग व्यवसायको रुपमा यो व्यवसायलाई स्थापित गराउन सकिन्छ ।
नेपाल वोतल वाटर उद्योग संघले यो व्यवसाय अन्तराष्ट्रिय करण गर्न राज्यलाई दवाव दिन सक्दैन ?
म केन्द्रीय अध्यक्ष भएको वेलामा राज्यलाई पटक पटक पानीको गुणस्तर, क्षमता वृद्धि र विभिन्न समस्या समाधानका लागी राज्यका निकायलाई घच्घच्याउने कार्य भएको थियो । योे उद्योग मानव जिवनको लागी अत्यन्तै आवश्यक र विशेष किसिमकोे रहेकाले यस उद्योगका लागि सहुलियत उपलब्ध गराई विकास गर्नु पर्दछ भन्ने माग गर्दै आएका छौं । साथै निर्यात गर्ने क्षमता विकास गर्न पहल गर्दा पनि हाल सम्म समस्या समाधान गर्न सकिएको अवस्था छैन । अन्तराष्ट्रियकरण गर्नका लागि राज्यको तर्फ बाट एउटै ब्राण्ड र गुणस्तर चिन्ह अंकित लोगोे उपलब्ध गराई विकसित राष्ट्रहरुका विभिन्न ठुला—ठुला होटलहरुमा पानी उपलब्ध गराई अन्तराष्ट्रियकरण गर्न सकिन्छ ।
नीजि क्षेत्रवाट निर्यात सम्भव छ कि छैन ?
नीजि क्षेत्रवाट निर्यात गर्न सक्ने अवस्था देखिन्छ तर कानुनी प्रकृया गुणस्तर मापदण्ड, पानीको वर्गीकरण जस्ता कार्यहरु जुन राज्य गर्नुपर्दछ यस्ता कार्यहरु व्यवस्था तथा कानुनको निर्माण गरेको खण्डमा नीजि क्षेत्रवाट यो व्यवसायलाई अन्तराष्ट्रियकरण गर्न सकिन्छ ।