‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’: प्रधानमन्त्री

141

माघ २९
काठमाडौँ-नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीमा बढुवाका लागि र कार्यसम्पादनमा राम्रो देखिनका लागि कसैको पनि दलाली गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन्। नेपाल प्रहरीको १७८ औँ समूहका तालिम सकेका प्रहरी निरीक्षकलाई शपथ ग्रहण गराउने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीका शीर्ष अधिकारीहरूलाई कार्यसम्पादन मुल्यांकन र बढुवाको प्रणाली स्थापना गर्न पनि आग्रह गरेका छन्। विगतमा कार्यसम्पादन र बढुवाका लागि गलत प्रणाली बसेको भन्दै ओलीले अब त्यस्तो नहुने बताएका हुन्। १९ महिना तालिम गरेर पास आउट हुन लागेका प्रहरी निरीक्षक र उच्च प्रहरी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ुप्रमोसन हुनका लागि कसैलाई रिझाउनु र कसैकोमा धाउनु पर्दैन। यसअवसरमा म प्रहरी संगठनका जिम्मेवार अधिकारीलाई कार्यसम्पादन मूल्यांकन र प्रमोसनका लागि न्यायोचित प्रणाली स्थापना गर्न आग्रह गर्दछु।ु उनले अबदेखि बढुवाका क्रममा भेदभाव भएको भन्ने सुन्न नपरोस् भनेर पनि आग्रह गरेका थिए। केही दिन पहिले मात्रै नेपाल प्रहरीका एसपीबाट एसएसपीमा बढुवाका क्रममा निष्पक्षता नभएको तथा कार्यसम्पादन र दक्षता एवं वरिष्ठता मिचेर बढुवा भएको भन्दै एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका थिए। त्यस्तै, डिएसपीबाट एसपीमा र एसपीबाट एसएसपीमा बढुवाका क्रममा सही निर्णय नभएको भन्दै प्रहरी संगठनभित्रको असन्तुष्टि सार्वजनिक भएको थियो। प्रधानमन्त्री ओलीले उच्च प्रहरी अधिकारीहरूलाई आफू पनि अनुशासनमा बस्न र मातहतका दर्जालाई पनि अनुशासनमा राख्न निर्देशन दिएका छन्। मातहतकालाई दबाउने र माथिल्लो तहकाको दलाली गर्ने काम बन्द गर्न पनि ओलीको निर्देशन थियो। उनले प्रहरी संगठन दलाली गर्न नभएर आफू पनि स्वाभिमानसका साथ बाँच्न र अरूको पनि स्वाभिमान साथ बाँच्ने अधिकार सुनिश्चित गर्नकालागि भएको बताए।