गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको ‘सर्टगन’ पड्कँदा युवती घाइते

218

फगुन २,
बिर्तामोड – संघीय गृहमन्त्रीको झापा भ्रमणको सुरक्षार्थ ड्यूटीमा खटिएका प्रहरीले बोकेको ‘सर्टगन’ पट्कँदा छर्रा लागेर एक युवती घाइते भएकी छन् ।
गृहमन्त्री रामबहादुर थापा झापा आएको समयमा बुधबार सुरक्षाका लागि पुर्व–पश्चिम राजमार्गस्थित झापाको लक्ष्मिपुरमा गस्तीमा रहेको प्रहरीले बोकेको सर्टगन अचानक खसेर पट्कँदा स्थानीय सुनिरा मैनाली घाइते भएकी हुन् । सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक हातबाट फुत्किएर झर्दा पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । सर्टगन पट्कँदा लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको उनको भनाइ छ । छर्रा लागेपछि मैनालीलाई बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
उपचारपछि मैनाली घर फर्किएको प्रहरीले बताएको छ । प्रहरी जवान लक्ष्मण शेर्पामाथि भने अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।-अन्नपुर्ण