‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’:प्रधानमन्त्री

158

फागुन २,
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको बताएका छन्। ललितपुरको एकान्तकुनामा बिहीबार नेपाल पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रेलभन्दा पहिले नेपालमा पानी जहाज आउने बताए। ‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’ उनले भने, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस् । टिकट पाइन्छ ।’ भारतले गण्डकी नदीमा डीपीआर बनाइसकेको जानकारी आफूले पाएको उनले जानकारी पनि दिए ।‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा पनि आउँछ,’ ओलीले भने, ‘पानीजहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन। सानो डुंगाजस्तो पनि होइन। ठिक्कको पानीजहाज आउँछ।’ नदीको आकार, गहिराइअनुसार पानीजहाज ल्याइने उनले बताए। ‘कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन्। पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउन सकिन्छ,’ उनले भने, ‘गहिराइ नचाहिने फिजिएको पानीजहाज बनाउन सकिन्छ।’

रेल र पानीजहाजका इञ्जिनियर उत्पादन गर्न सरकारले विद्यार्थीलाई विदेश पढ्न पठाउने पनि प्रधानमन्त्रीले घोषणा गरे।