राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदन: शोधनान्तर स्थितिमा सुधार, पछिल्लो अर्थतन्त्र यस्तो छ

113

फागुन २,
काठमाडौं -चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर स्थितिमा अघिल्लो महिनाको तुलनामा सामान्य सुधार आएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी अर्धवार्षिक प्रतिवेदनले शोधनान्तर ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको देखाएको छ । पाँचौ महिनासम्म शोधनान्तर घाटा फराकिलो बन्दै गइरहेको थियो । पहिलो पाँच महिनामा शोधनान्तर घाटा ८५ अर्ब ३२ करोड रुपैयाँ थियो । शोधनान्तर घाटा बढेर विदेशी विनिमय सञ्चितिमा चाप पर्न थालेपछि राष्ट्र बैंकले विदेश जाने नेपालीलाई विदेशीमुद्रा सटही सुविधा कम गर्ने र भारतमा कार्डबाट गरिने भुक्तानीसमेत महिनामा एक लाख रुपैयाँ भारुमा सीमित गरेको थियो । समीक्षा अवधिको पछिल्लो महिना विदेशी ऋणमा सञ्चालित आयोजनाको शोधभर्ना प्राप्ति तथा कार्डबाट हुने भुक्तानीमा कडाइलगायतले शोधनान्तर घाटा थप फराकिलो हुनबाट रोकेको छ ।

शोधनान्तर घाटा कम गर्न निर्यात वृद्धि, विदेशी सहयोगका आयोजनाको शोधभर्ना समयमा प्राप्त गर्न, विदेशी लगानी भिœयाउने र रेमिट्यान्स प्राप्तिमा औपचारिक माध्यमलाई प्र श्रय दिने उपाय सरकारसँग छन् । पछिल्ला वर्ष वस्तु र सेवा व्यापारतर्फ उच्च घाटा बेहोर्नुपरेकाले नेपालबाट बाहिरिने रकमको अंश देशले प्राप्त गर्नेभन्दा बढी हुन गएको हो । यो अवधिमा विदेशी लगानी भने निराशाजनक छ । गत वर्षको पहिलो ६ महिनामा १४ अर्ब ३३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिकलगानी भित्रिएकोमा यस वर्ष चार अर्ब ३६ करोड रुपैयाँ छ । यसवर्ष अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय लाभका कारण रेमिट्यान्सको वृद्धिदर केही उच्च छ । अमेरिकी डलरमै पनि रेमिट्यान्स १७ दशमलव ६ प्रतिशत बढेको छ । नेपाली रुपैयाँमा हिसाब गर्दा ३० प्रतिशतले वृद्धि भई चार खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ ।

वस्तु व्यापारतर्फ ६ खर्ब ७९ अर्ब रुपैयाँ घाटा छ । समीक्षा अवधिमा वस्तु आयात ३० दशमलव ५ प्रतिशतले बढेर कुल सात खर्ब २४ अर्ब रुपैयाँको आयात भएको छ । निर्यात १० प्रतिशतले बढेर ४५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यस्तै, खुद सेवा आय ९ अर्ब ४५ करोड रुपैयाँ घाटामा छ ।

चालु आवको ६ महिना (साउन–पुस) मा विदेशीमुद्राको सञ्चिति ६।७प्रतिशतले घटेको छ । आर्थिक वर्षको सुरुमा १० अर्ब आठ करोड अमेरिकी डलर विदेशीमुद्राको सञ्चिति रहेकामा पुस मसान्तमा नौ अर्ब ४१ करोड अमेरिकी डलर सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । यो सञ्चितिबाट झण्डै नौ महिनाको वस्तु र आठ महिनाको वस्तु र सेवाको आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

अमेरिकी डलर मजबुत भई आयात महँगिदा मूल्य वृद्धि पनि बढेको छ । छैटौंमहिना (पुस) मा उपभोक्ता मुद्रास्फिति ४.६ प्रतिशत छ । अघिल्लो महिना मुद्रास्फिति ३.७ प्रतिशत थियो । पुस महिनामा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा सबैभन्दा बढी ५.२ प्रतिशत, पहाडमा ४.९ प्रतिशत, हिमालमा ४.५ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।