विदेश गएर उपचार गर्नेले ‘विपन्न नागरिक कोष’बाट सहयोग नपाउने

69

फागुन ५,
काठमाडौं -अबदेखि विदेशमा गएर उपचार गर्नेहरूले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक औषधि उपचार सहायत नपाउने भएका छन्। हालै आएको जनस्वास्थ्य सेवा ऐनको दफा ३० मा कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नको लागि उपचार खर्च नदिने नियम उल्लेख भएकाले अब विपन्न उपचार सहयोग लिनेहरूले विदेश गएर उपचार गर्नु परे सेवा शुल्क नपाउने भएका हुन्। जनस्वास्थ्य सेवा ऐनको दफा ३० भएमा सोको लागि लाग्ने खर्च “नेपाल सरकारबाट उपलब्ध गराइने छैन” भनि उल्लेख भएकाले खर्च दिन रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको सामाजिक स्वास्थ्य सुरक्षा शाखा प्रमुख डा. माधव लम्सालले बताए। उनले भने, “जनस्वास्थ्य सेवा ऐनको दफा ३० भएमा विदेश गएर उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन, भनि उल्लेख भइसकेको अवस्थामा अब हामीले विदेशमा गएर उपचार गर्नेहरूको लागि उपचार सेवा नदिने भएका हौँ।” यसअघि सरकारले मुटु, क्यान्सर, अल्जाइमर, पार्किसन्स, सिक्कल सेल एनिमिया, हेड इन्जुरी, स्पाइनल इन्जुरी लगायतका कडा रोगलाई दिइने गरेको एक लाख रुपैयाँ विदेश उपचारका लागि जाने विरामीका लागि समेत उपलब्ध गराउँदै आएको थियो। त्यस्तै, विदेशमा गएर मिर्गौला प्रत्यारोपण गराउँदा दुई लाख रुपैयाँ सुविधा उपलव्ध गराउँदै आएको थियो। तर त्यसका लागि मेडिकल बोर्डको सिफारिस अनिवार्य थियो। विभागको सूचनामा विदेशमा गएर उपचार गर्ने विपन्नले कुनै पनि खर्च नपाउने भन्ने बारेको सूचना २ असोज २०७५ मै प्रकाशित भइसकेकोले त्यसयताको खर्च अब नदिनेसमेत डा। लम्सालले बताए। विपन्न नागरिक उपचार कोषबाट वर्षमा अर्बौं रुपैयाँ कडा रोगको उपचारमा खर्च गरिने गरिएको छ। नेपालबाट विशेषगरी भारतमा क्यान्सर लगायतका कडा रोगहरूको उपचारमा विपन्न नागरिक जाने गरेका छन्। सरकारले विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत खर्च हुने गरी गम्भीर प्रकारका आठ रोगमा उपचार सहायता गर्दै आएको छ। सरकारले विपन्न नागरिकको निःशुल्क उपचार गर्न सूचीकरण गरेका देशभरका ६८ वटा अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरेको छ। हाल देशभरका ४१ अस्पतालमा मिर्गौला, १० अस्पतालमा क्यान्सर, सिकलसेल एनिमिया, ९ अस्पतालमा मुटु, स्पाइनल इन्जुरी तथा हेड इन्जुरी, ५ अस्पतालमा अल्जाइमर्सका साथै पार्किन्सन्स रोगको उपचार सेवा दिने व्यवस्था गरिएको छ। मिर्गौला, मुटु, क्यान्सर, स्पाइनल तथा हेड इन्जुरी, अल्जाइमर्स, पार्किन्सन्स र सिकलसेल एनिमिया गरी आठ प्रकारका रोगको बिरामीलाई विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत निशुल्क उपचारको व्यवस्था गरेको छ। विपन्नहरूले सहायता रकम मुटुरोग, क्यान्सर, टाउको तथा स्पाइनलको चोटपटक, अल्जाइमर तथा पार्किन्सन, सिकलसेल एनिमियाका लागि एकपटकको २५ सय रुपैयाँका दरले दुई वर्षसम्म पाँच लाख २० हजार सहयोग पाउन सक्छन्। यसैगरी मिर्गौला प्रत्यारोपणका लागि दुई लाख र प्रत्यारोपणपश्चात् औषधिका लागि एक वर्षसम्म एक लाख रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ। मुटु, क्यान्सर, टाउको तथा स्पाइनल चोटपटक, अल्जाइमर पार्किन्सस, सिकलसेल एनिमिया रोगका लागि बढीमा एक लाख रुपैयाँसम्म उपचार सहायता प्राप्त गर्न सक्छन्। यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउन सकिन्छ। सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा भने एक अर्ब १८ करोड ९० लाख रुपैयाँ छुट्याएको छ ।थाहाखबर