प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने संकेत

339

समाचारपत्र दैनिक / सुनील महर्जन,
फागुन ७, काठमाडौं । सकारले ल्याएको कर्मचारी समायोजनमा सोमबार सम्म ७ हजार ३ सय ४१ क्र्मचारीको समायोजन भएको छ । सो मध्ये ५ हजार ६ सय ९१ जना कर्मचारी संघमा नै समायोजन भएका छन । हालसम्म समायोजन सकिएको कुल कर्मचारी संख्यामध्ये अधिकांश संघमै समायोजन भएका हुन् । ९ सय ७ जना प्रदेशमा र ७ सय ४३ जना स्थानीय तहमा समायोजन भएका छन ।कुल ७७ हजार ३४ जना कर्मचारीले समायोजनमा जान फारम भरेका थिए । त्यसमध्ये ३५ हजार ३ सय ६४ जनाले संघमै रहने गरी समायोेजन रोजेका छन ।सरकारले स्थानीय तह र प्रदेशमा खटाउन कर्मचारी समायोजन ल्याए पनि अत्यधिक कर्मचारीको रोजाइ संघ मै परेको छ । यसबाट प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव हुने देखिएको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन समायोजन अध्यादेश ल्याइएको थियो । ऐनको मनसाय विपरीत प्रक्रिया पु¥याएर घुमाइफिराई संघमै समायोजन हुने कर्मचारीको संख्या अत्याधिक रहेको छ ।

‘केन्द्रको दरबन्दी भएसम्म रोजेको ठाउँमा समायोजन गर्छौं । दरबन्दी भन्दा बढी भए ती कर्मचारीलाई प्रदेशमा र स्थानीय तहमा खटाउनेछौं’ –संघीय मामिला तथा प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानारी दिनुभयो । सरकारले केन्द्रमा ४९ हजार ९ सय २० जनाको दरबन्दी स्वीकृत गरेको छ । यता १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् । मन्त्रालय अन्तर्गतको समायोजन महाशाखाले सबैभन्दा पहिले सचिवबाट समायोजनको काम शुरु गरेको थियो । सचिव, सहसचिव, उपसचिवको समायोजन पूर्णरुपमा सकिएको छ । ५७ सचिव सबैको संघमा समायोजन गरिएको छ । ६ सय ७६ सहसचिवमध्ये संघमा ५ सय ७४ र प्रदेशमा १ सय २ जना समायोजन भएका छन् । स्थानीय तहमा भने सहसचिवको दरबन्दी छैन ।