बंगलादेशका २० हजार वेबसाइट बन्द

67

एजेन्सी
फागुन ९,ढाका- बंगलादेशमा अश्लील सामग्री राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलताविरुद्धको अभियानका क्रममा ती साइट बन्द गरिएको उच्च अधिकारीले मंगलवार बताएका छन् ।

मुस्लिम समुदायको बाहुल्य रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्री पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । ‘मैले बंगलादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ’, बंगलादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने । अश्लीलताविरुद्ध आफूले ठूलो लडाइँ लड्नुपरेको बताउँदै उनले यसलाई निरन्तरता दिने जानकारी पनि दिए ।

उनले हालसम्म १५, ६३६ अश्लील साइट र २, २३५ जुवा खेलाउने साइट बन्द गराएको जानकारी दिए । बंगलादेशका उच्च अधिकारीले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपको दुरुपयोग भएको ठानेका छन् । बंगलादेशमा दुरुपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपमाथि प्रतिबन्ध गराउनुपर्नेमा पनि मन्त्री जब्बरले जोड दिए । अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको उनले जानकारी दिए । बंगलादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशन बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीले यस्तो अभियान थालेका हुन् ।

बंगलादेशमा अश्लील वेबसाइट सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् । बंगलादेशमा झण्डै आधा जनता इन्टरनेट प्रयोग गर्छन् । बंगलादेश दूरसञ्चार नियामक आयोगका एक अधिकारीले भने, ‘सोमवार अश्लील ५५ वेबसाइट बन्द गरेका छौं ।’ उनले आइतवार मात्र जुवा खेलाउने १७६ वेबसाइट बन्द गरेको जानकारी दिए ।