यूटीएल संग सम्झौता रद्ध, अप्टिकल फाइबर बिछ्याउने जिम्मा नेपाल टेलिकमलाई

86

फागुन ९,
काठमाडौँ -सरकारले गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका जिल्लाको मध्यपहाडी लोकमार्ग र जिल्लाहरुमा अप्टिकल फाइबर बिच्छाउन गरिएको सम्झौता रद्ध गरेको छ । योसँगै युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) गोरखाको आरुघाटदेखि रुकुमको मुसिकोटसम्म अप्टिकल फाइबर बिछ्याउने कामबाट बाहिरएको छ । मन्त्रिपरिषद्को बैठकले काम गर्न नसक्ने ठहर गर्दै यूटीएलसँग भएको सम्झौता रद्द गरेको सूचना तथा सञ्चार मन्त्री गोकल बास्कोटाले बताए । अब यी दुई प्रदेशमा अप्टिकल फाइबर बिच्छाउने कामको जिम्मा नेपाल टेलिकमले पाएको छ । यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने थियो । तर, काम नै नथालेपछि सम्झौता भंग गरिएको हो । यो कामका लागि २०७४ वैशाखमा दूरसञ्चार प्राधिकरण र यूटिएलबीच सम्झलौता भएको थियो । यसका लागि यूटिएललाई ग्रामीण दूरसञ्चार कोषबाट दुई अर्ब एक करोड रुपैयाँ दिइकएो थियो ।

प्रदेश ६ र ७ नं प्रदेशमा रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिच्छाउन स्मार्ट टेलिकमले जिम्मा पाएपनि त्यहाँ पनि कामको गति धिमा छ । स्मार्टले ३ अर्ब ९४ लाख रुपैयाँमा यो कामको जिम्मा लिएको छ । नेपाल टेलिकमले प्रदेश नम्बर १, २ र ३मा पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउन काम गरिरहेको छ । गुणस्तरीय इन्टरनेटको पहुँच विस्तारका लागि सरकारले देशभर अप्टिकल फाइबर बिछ्याउन काम गरिरहेको छ । तर काममा ढिलाइ भएपछि २०१८ भित्र सबै जिल्ला सदरमुकामलाई अप्टिकल फाइबर सञ्जालले जोड्ने सरकारी लक्ष्य पूरा भएन । सबै सेवा प्रदायकले काम राम्रो गतिमा गर्न सकेका छैनन् । onlinekhabar