टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा, हजारौ विद्यार्थी उपस्थित हुने

131

फागुन १०
काठमाडौं – हिन्दू स्वयंसेवक संघ नेपालले काठमाडौंको टुडिखेलमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्ने जनाएको छ । संघले त्यसका लागि शुक्रबार हजारौ विद्यार्थी भेला गर्ने भएको छ । नेपालको धर्म, संस्कृति, भाषा, भुगोल, राष्ट्रिय विभूति लगायत नेपालको वैदिक इतिहास सम्बन्धी ज्ञान अभिवृद्धि बढाउन कार्यक्रम गरिने जनाएको छ । हिन्दू स्वयंसेवक संघ नेपालले विगत चार वर्षदेखि नेपालका विद्यार्थीलाई लक्षित गरी देशभर स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा लिँदै आएको एक विज्ञप्ती जारी गरि जनाएको छ । गत वर्ष काठमाडौंमा करिब ८ हजार विद्यार्थी सहभागी भएका थिए ।

उपत्यका संयोजक आदित्य खनालले परीक्षामा काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी, निजी र सामुदायिक गरी २ सयभन्दा बढी स्कुलका विद्यार्थीले सहभागि हुने बताए । सहभागी विद्यार्थीलाई संघले एक पुस्तक उपलब्ध गराउनेछ । परीक्षामा प्रथम हुने विद्यार्थीलाई ५१ हजार, द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।-अन्नपुर्ण