सीएमसी फिर्ता भएपछि मेलम्चीमा अन्यौलता सिर्जना भयो : खानेपानी मन्त्री

121

फाल्गुन १०,
काठमाडौँ — सीएमसी कम्पनीको लापारबाहीले गर्दा मेलम्ची खानेपानी आयोजना समयमा पुरा गर्न नसकेको खानेपानी मन्त्री बिना मगरले संसदमा जानकारी गराएकी छन् । ‘शुक्रबार प्रतिनिधिसभामा सांसदहरुले मेलम्चीबारे गरेको प्रश्नको जवाफ दिदै मन्त्री मगरले इटालियन ठेकेदार सिएमसी कम्पनी फिर्ता भएपछि केही अन्यौलता सिर्जना भएपनि सरकार त्यसको समाधानको प्रयासमा रहेको जवाफ दिइन । त्यसक्रममा उनले बाँकी मेलम्चीको काम कोमार्फत गराउने भन्नेमा सरकार गृहकार्यमा रहेकाले त्यो प्रकृया पुर्याएर चाँडै निश्कर्षमा पुग्ने बताइन् ।

आयोजनाले आफ्नो कार्यकालमा तुलनात्मक रुपमा फड्को मारिरहेको बेला अन्तिम चरणमा असफल भएको बताउँदै उनले भनिन्, ‘टेनल, गेट निर्माण अन्तिम चरणमा थियो, काठमाडौंबासीलाई चाडो पानी खुवाउने तयारीमा थियौं, बीचमा अन्यौलता सिर्जना भए, सिएमसिले छोडेपछि आयोजनाबारे चासो र चिन्ता बढेको छ ।’ यसलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै चाँडोभन्दा चाँडो समाधानका लागि आफूले पनि गृहकार्य सुरु गरेको बताइन्। उक्त समस्यालाई दुई तरिकाले समाधान गर्नेगरी गृहकार्य भैरहेको उनको दाबी थियो । उनले सीएमसीसँग पनि वार्ता भइरहेको र सीएससी काममा नफर्किए स्वदेशी ठेकदार मार्फत नै काम सम्पन्न गरिने बताएकी थिइन् । उनले आफ्नो कारणले सीएमसी बाहिरिएको आरोपको प्रतिवाद गरेकी थिइन् ।

‘बाहिर जेजती समाचारहरु आए सबै मिडियाबाजी हुन्, यसबारे थप बोल्न चाहान्न, मेलम्ची उपत्यकाबासी जनताहरुको निकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हो, यो मेरो कार्यकालसँग जोडिएको कारण यसमा गिद्धेनजर लाउन दिने छैन,’ उनले भनिन्।