दुबई प्रहरीद्वारा एनआरएनए यूएई अध्यक्ष श्रेष्ठ पक्राउ

68

फागुन १९,
काठमाडौँ -दुबई प्रहरीले गैरआवासीय नेपाली संघ (यूएई) का अध्यक्ष रमेश श्रेष्ठलाई पक्राउ गरेको छ । एनआरएनए यूएई अध्यक्ष श्रेष्ठसँगै रहेका एनआरएनएका केन्द्रीय अध्यक्ष भवन भट्ट र केन्द्रीय उपाध्यक्ष कुल आचार्यलाई भने सामान्य सोधपुछपछि छाडेको छ । श्रेष्ठलाई दुबई प्रहरीले ‘ड्रिङ्क एन्ड ड्राइभ’ अभियोगमा पक्राउ गरेको जानकारी दिएको छ । उनलाई शुक्रबार बिहान ५ बजे पक्राउ गरिएको हो । त्यसबेला उनले चलाएको गाडीमा एनआरएनएका केन्द्रीय अध्यक्ष भट्ट र केन्द्रीय उपाध्यक्ष आचार्य पनि सँगै थिए । श्रेष्ठलाई एनआरएनए यूएईले आयोजना गरेको कार्यक्रम सकेर फर्किएका बेला पक्राउ गरिएको हो । समाचार अनुसार एनआरएनएका केन्द्रीय भट्ट र उपाध्यक्ष आचार्य श्रेष्ठसँगै दुबईस्थित कार्लन टावर गएका थिए ।