सशस्त्र प्रहरीले ३२९७ जना प्रहरी जवान माग्यो (सूचनासहित)

501

फागुन २४,
काठमाडौँ -सशस्त्र प्रहरी बल नेपालले तीन हजार दुई सय ९७ प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको छ ।

सशस्त्र मुख्यालयले रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । बलले आज शुक्रबार (२४ फागुन) बाट आगामी २५ चैतसम्म दरखास्त संकलन गर्ने गरी सूचनासमेत प्रकाशित गरेको छ ।

सूचनाअनुसार, खुल्लातर्फ १७७७, समावशी महिला २९७, समावेशी आ÷ज ४७५, समावेशी मधेसी २२२, समावेशी पिछडिएका क्षेत्रतर्फ ७४ र अमर असक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि ३६ जना माग गरिएको छ ।

कक्षा आठ उत्तीर्ण भएकाले दरखास्त बुझाउन सक्ने छन् । पुरुषका लागि कम्तीमा पाँच फिट दुई इन्च र महिलाका लागि पाँच फिट उचाइ तोकिएको छ ।

सशस्त्रले यो पटकबाट आफ्ना स्थायी गण र गुल्मबाट समेत दरखास्त बुझ्ने व्यवस्था मिलाएको छ । सशस्त्रको यो नयाँ व्यवस्थाले इच्छुक उम्मेदवारले आफूलाई पायक पर्ने ठाउँमा दरखास्त दिन पाउने छन् । यसबाट इच्छुक उम्मेद्वारको समय र खर्चमा समेत बचत हुने देखिन्छ । साथै विगतको तुलनामा दरखास्त दिनेको संख्या पनि बढ्न सक्ने देखिन्छ ।