‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’

92

फागुन २४,
काठमाडौँ -‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि शुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ ।

मेलाको प्रमुख नाराका रूपमा ‘मेहनत सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको’ र ‘नेपाली वस्तु प्रयोग गराँै, नेपाली भएकोमा गर्व गराँै’ भन्ने रहेको छ । व्यापार घाटा कम गर्न र निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको घरेलु उत्पादनलाई बढावा दिनसमेत मेला प्रभावकारी हुने र त्यसबाट सीप र क्षमताको विकास एवं विस्तारसमेत हुने विश्वास लिइएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले चासोपूर्वक स्टलको अवलोकनसमेत गर्नुभयो । ढाका, अल्लोको कपडा तथा अन्य घरेलु उत्पादनको निर्माण तथा बनावटको प्रक्रियाका बारेमा समेत राष्ट्रपतिले उद्योगी व्यवसायीसँग जानकारी लिनुभएको थियो ।

देशले हाल वार्षिक रु १२ खर्ब बढीको व्यापारघाटा व्योहोरिरहेको र दैनिक उपभोग्य वस्तुसमेत विदेशबाट आयात भइरहेको सन्दर्भमा सरकारले नै घरेलु उत्पादनमा जोड दिनुपर्ने महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीको भनाइ छ । एक अध्ययनअनुसार शहरीया जनजीवनमा १५ देखि २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ४० देखि ५५ प्रतिशत मात्र स्वदेशी वस्तुको उपयोग भइरहेको छ । स्वदेशी उत्पादनको वृद्धि र त्यसको सहज व्यापारले मात्रै व्यापार घाटा घटाउन र आन्तरिक रूपमा समेत परिपूर्तिका लागि मार्गदर्शन गर्ने महासङ्घको भनाइ छ ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प लिएको सन्दर्भमा महासङ्घले पनि सोही सङ्कल्पलाई पूरा गर्न ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ भन्ने नारा अगाडि सारेको छ । वैदेशिक रोजगारीमा गएका ४० लाख बढी युवालाई देश फर्काउन र रोजगारीको अवसर प्रदान गर्न समेत घरेलु तथा लघुउद्यम नै उत्तम विकल्प भएको महासङ्घका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७३÷७४ मा कूल तीन लाख ८६ हजार ५१२ घरेलु तथा साना उद्योग रहेकामा चालू अवस्थामा हाल दुई लाख ६४ हजार ८६ मात्रै रहेका छन् । ती उद्योगमा कूल पूँजी लगानी रु ३५ अर्ब ३१ करोड बराबर रहेको र २४ लाख ६६ हजार ९९२ ले रोजगारी पाएका छन् । त्यसमा साना किसान, घरमा आधारित साना उत्पादनकर्ता र लघुउद्यम समावेश छैनन् । समृद्ध नेपाल निर्माणको प्रमुख आधार स्थानीय स्रोतसाधनमा आधारित स्वरोजगार सिर्जना गर्ने लघुउद्यम र साना उद्योग नै भएको महासङ्घले उल्लेख गरेको छ ।

सो अवसरमा महासङ्घले साना तथा घरेलु उद्योगको स्तरोन्नति गर्न र नयाँनयाँ उद्योग स्थापना गरी समृद्धिको अभियान अगाडि बढाउन, स्थानीय तहमा साना उद्योगग्राम स्थापना गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । यस्तै नेपाल राष्ट्र बैंकले विशिष्टकृत रूपमा छुट्याएको कोषमार्फत सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन, प्रविधि हस्तान्तरण बजारीकरणमा सहयोग पु¥यउनसमेत सरकारको सहयोग जरुरी रहेको मेला आयोजक समारोहका संयोजक उमेशप्रसाद सिंहको भनाइ छ ।

बजारीकरण र व्यावसायीकरण हुन नसक्दा साना उद्योग बाबुआमाको हातबाट छोराछोरीको हातमा हस्तान्तरण हुन नसकी बाबुआमासँगै बिलाएर जाने अवस्था सिर्जना भएको छ ।

पाँच दिनसम्म चल्ने मेलामा २०५ स्टल रहेका छन् । त्यसमा उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योग, चीन, भारत, बङ्गलादेश गरी ४५ अन्तर्राष्ट्रिय स्टल रहेका छन् । करीब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै रु १५ करोडको कारोवार गर्ने लक्ष्य राखिएको छ ।

मेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्वदेशी अर्थतन्त्रको विकास, विस्तार र संरक्षण गर्दै नेपालको समृद्धिका लागि वैदेशिक लगानीसमेत भित्र्याउन लागिएको बताउनुभयो । उहाँले साना तथा घरेलु उद्योगको विकास र विस्तारका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

आयात प्रतिस्थापन गर्न पनि नेपालका घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री यावदले सबैलाई उद्योगी बनाउन र बन्न सरकार प्रेरकको रूपमा रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, केन्द्रीय महिला उद्यमी समितिका सभापति शिवा उपाध्याय, अर्गानिक एशोसिएसन अफ नेपालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटालगायतले साना तथा घरेलु उद्योगको प्रवद्र्धनमा सरकार र निजी क्षेत्रको साझा सोच र सङ्कल्प जरुरी रहेको बताउनुभयो । RSS