कर्णालीको जडीबुटी युरोप र अमेरिका निर्यात

407

फागुन २४,
राँझा -कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् ।

कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जमा भण्डारण गरी निर्यात गर्दै आएका व्यवसायीले कच्चा पदार्थ मात्र निर्यात गर्दा लाभ नहुने भएपछि प्रशोधन गरेर बिक्री गर्न थालेका हुन् । नेपाल जडीबुटी व्यवसायी सङ्घका कार्यालय प्रमुख पुष्कर खरेलका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा अमला पाउडर एक हजार २० किलो, अश्वगन्धा पाउडर चार हजार ६०० किलो र सितल चिनी पाउडर एक हजार २० किलो इटली, जर्मन र फ्रान्समा निर्यात भएको थियो ।

चालू आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि पुससम्म अश्वगन्धा तीन हजार ५०० किलोग्रम प्रशोधित जडिबुटी अमेरिका निर्यात भएको छ । नेपालगञ्ज जडीबुटी कारोवार हुने प्रमुख क्षेत्र हो । यहाँबाट विषेशगरी भारतमा जडीबुटी निर्यात हुन्छ । अहिले युरोप र अमेरिकामा बजार खोज्ने काम भइरहेको छ सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयोे ।

प्रशोधन गरी भारतबाहेक तेस्रो मुलुकमा बिक्री भइरहेको जडीबुटी प्रारम्भिक चरणको भएकाले न्यून रहेको उहाँको भनाइ थियो । “नेपालगञ्जमा प्रशोधन भएको जडीबुटीले युरोप र अमेरिकी बजारमा स्थान पाउनु राम्रो कुरा हो ।” अन्य मुलुकमा समेत जडीबुटी प्रमुख निर्यातकर्ता रवीन्द्रनाथ शुक्लाले भन्नुभयो “यसको परिमाण बढाउन र यो बजारलाई स्थायी बनाउन स्वयं व्यवसायी र सरकारका तर्फबाट धेरै गर्न बाँकी छ ।”

प्रशोधन गरी निर्यात गरिने जडीबुटीमा लगाइने प्रशासनिक झण्झट अन्त्य गर्ने हो भने यसको आकार बढ्ने उहाँको भनाइ थियो । निर्यातकर्ता शुक्लाका अनुसार प्रशोधित जडीबुटीको गुणस्तरलाई प्राथमिकता दिए युरोप र अमेरिकी बजारमा यहाँको जडीबुटीको पहिचान हुनेछ । कच्चा पदार्थ बिक्री गरेर मात्र नेपालको जडीबुटीले बजारमा राम्रो मूल्य पाउन नसकेपछि प्रशोधन नै गर्ने गरी स्थानीय व्यवसायीले ठूलो लगानीमा उद्योग खोलेका हुन् ।

सत्यम इन्टरनेशनल, बाहुवली हर्वल, हिमालय हर्वलजस्ता उद्योगले यहाँ भण्डारण हुने जडीबुटी प्रशोधन गरेर बिक्री गर्दै आएका छन् । जडीबुटी व्यवसायी सङ्घका पूर्वउपाध्यक्ष शकीलअहमद जसगढले कच्चा पदार्थभन्दा प्रशोधित जडीबुटी निकासीमा सहज र मुनाफासमेत हुने गरेको बताउनुहुन्छ ।

सरकारका तर्फबाट पनि प्रशोधित जडीबुटी निर्यातका लागि लाई प्राथमिकता दिए पनि व्यवहारमा कार्यान्वयन हुननसकेको उहाँको गुनासो थियो । “हालसम्म जेजति गरिरहेका छौँ, सबै निजी क्षेत्रका व्यवसायीबाट भएको छ”, जसगढले भन्नुभयो, “सरकारले जडीबुटी व्यवसायीलाई सधैँ आश्वासन दिनेमात्र काम भएको छ, सरकारी सहयोग हुनसके नेपाली जडीबुटीले युरोप र अमेरिकामा स्थायी बजार बनाउन सक्दछ ।” RSS