‘होमस्टे खोलेका छौं, टुरिस्ट पठाइदेऊ’

258

फागुन २५,
बन्दीपुर । पश्चिमी वायुको प्रभावका कारण बुधवार र बिहीवार तनहुँको दुर्गम गाउँ रामकोटमा लगातार पानी पर्‍यो । बिहीसरा र उनको टोलीले एक महिनादेखि गरेको तयारी कुबेलामा परेको बैमानी झरीले बिगारिदियो । गाउँभरि हिलो र पानीको गजगजी थियो । त्यहीबेला देशका पर्यटन मन्त्री, चर्चित व्यवसायी र उड्ययन प्राविधिकहरु बोकेको जहाज पूर्वतिर दुर्घटना भएको खबर उड्दै गाउँमा पुगेपछि मौसमझैँ गाउँलेको चेहेरामा पनि चरम उदासी छायो ।

पर्यटनकै कारण गाउँको मुहार परिवर्तन गर्ने विश्वासमा ‘होम स्टे’ को औपचारिक प्रारम्भको तयारी गरिरहेका बेला अचानक परेको पानी र पर्यटनमन्त्रीसहितको हेलिकोप्टर दुर्घटनाले कार्यक्रम नै बिथोलिने भय बलियो बन्यो ।
‘बिहीबार जन्मेपछि भाग्य बलियो कहाँ हुन्छ र रु’ रामकोट सामुदायिक होम स्टेकी अध्यक्ष बिहीसरा आले बिरहलाग्दो श्वरमा बोलिन्, ‘ईश्वरले पनि गरिबकै भाग्यमा प्रहार गर्छन् । यस्तो बेलामा काठमाडौंबाट यो दुर्गम गाउँमा को आउला र ?’ काठमाडौंबाट ५० जना जति लेखक(कविहरुको टोली बिहीसराले नेतृत्व गरेको होम स्टेको निरीक्षण र आथित्य ग्रहण गर्न रामकोट पुग्ने कार्यक्रम थियो । गाउँमा सागसब्जी, ओड्ने ओच्छ्याउने र भाँडाकुँडा थुपारिएका थिए । नाचगानका टोली तयार थिए । गाउँमा कुन समूहले कस्तो नृत्य देखाउने, त्यसको तयारी पनि हुँदैथियो । यसका लागि उनीहरुले तीन महिने होसस्टे व्यवस्थापनको तालिम लिइसकेका थिए ।

पर्यटन बोर्डले पहिलोपटक उनीहरुका लागि ठूलो समूहमा पाहुना पठाइदिँदै थियो । यस्तो बेलामा झरीसँगै आतेसलाग्दो दुर्घटनाको खबरले एकाएक बिहीसरा र उनका साथीहरु मुर्झाउनु स्वाभाविक पनि थियो । बन्दीपुर वरपर १० गाउँमा होमस्टे सुरु भएको छ र सबैको नेतृत्व महिलाले नै गरिरहेका छन्
धन्न, त्यत्रो दुर्घटना र लगातारको वर्षाले कार्यक्रम बिथोलिएन । शुक्रबार बिहान ८ बजे पर्यटकको टोली थानकोटतिर आइपुगेको खबर सुकमायाको फोनले दियो । १७ वर्षे सुकमाया स्मार्ट फोन बोक्ने गाउँकी एक मात्र किशोरी हुन् । उनैले पाहुनाका लागि कौडा र चुड्का नृत्यकी जिम्मेवारी लिएकी छन् । पाहुना आउने पक्का भएसँगै शुकमाया नृत्यका लागि युवती जम्मा गर्न गाउँ झर्दा सोमकला थापा सुकेका दाउरा जुटाउन थालिन् ।

आइतेनी आमा रक्सी पार्न लागिन् । मंगलीको समूह भने तरकारी काट्न थाल्यो । गाउँमा बिहानैदेखि झलमल्ल घाम लाग्दा झण्डै चार सय किलोमिटर लामो हिमश्रृंखला रामकोटबाट छर्लङ्गै देखिए । गाउँको हाँसोसँगै हिमाल टल्केका दृष्यले पश्चिम पहाडको सौन्दर्य दोब्बर भयो । -अनलाइन खबरबाट