राजपा र फोरम सशंकित

72

नागरिक दैनिक/भुवन शर्मा
फागुन २६, काठमाडौं । सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराई÷मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन्। सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी सेक्ने काम बन्द भएको प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्रीको सो भनाइप्रति राजपा र फोरमका नेताहरूले कडा आपत्ति जनाएका छन्।

राजपा अध्यक्ष मण्डलको शनिबार बसेको बैठकमा सरकार र राउतबीच भएको सहमतिमा विभिन्न कोणबाट छलफल भयो। बैठकपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘ शुक्रबार सरकार र राजपाबीच भएको सहमतिले सरकारप्रति धेरै प्रश्न खडा गरेको छ। अबका दिनमा राउतका गतिविधि कस्ता हुने छन्, त्यो हेर्न बाँकी नै छ।’ सरकारले नै राउतलाई प्रयोग गर्दै आएको उनको भनाइ थियो। उनले भने, ‘राउतलाई देखाएर हामीले रोटी सेक्ने गरका होइनौं। सरकार आफैंले राउतलाई प्रयोग गर्दै आएको छ।’ आगामि दिनमा राउतले कसको हितमा गतिविधि गर्ने हुन यसबारे अहिले नै केही भन्न नसकिने बताउँदै उनले भने, ‘राउतले जनमतसंग्रहमा सरकारले सहमति जनायो भनेका छन तर सरकारले जनमतसंग्रहमा सहमति नभएको बताएको छ। यस विषयमा प्रधानमन्त्रीले स्पष्ट भन्नुपर्छ।’

सरकार र राउतबीच भएको सहमतिमा अरू भित्री खेल भएको हुन सक्ने भन्दै महतोले आशंका प्रकट गरे। उनले भने, ‘बाहिर हेर्दा सरकार र राउतबीच ११ बुँदै सहमति भएको देखिएको छ तर भित्री खेल के हो। त्यो अझै आउन सकेको छैन। अबका दिनमा त्यो खेलबारे थाहा होला।’ राजपा महासचिव केशव झाले सरकारले राउतलाई स्वतन्त्र मधेस गठबन्धनका नाममा संगठन गर्न छुट दिएको बताए। उनले भने, ‘के अब सरकारले राउतलाई स्वतन्त्र मधेस गठबन्धनको नाममा संगठन गर्न छुट दिएको हो रु यस विषयमा गम्भीर प्रश्न उठेको छ। मधेस आन्दोलनका बेला राउतको विषयमा एक शब्द चर्चा भएन। तर सरकार आफैंले राउतलाई प्रयोग गर्दै आएको छ।’ राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट सरकारले राउतसँग सहमति गरेको थियो।