फोहोर व्यवस्थापनमा काठमाडौं महानगर : दैनिक खर्च दुई लाख, आम्दानी २५ हजार

249

नयाँ पत्रिका, फागुन २६,
काठमाडौँ -काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा दैनिक दुई लाख सात हजार खर्च गर्दै आएको छ । आम्दानी भने दैनिक २५ हजार मात्रै हुने गरेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएका निजी क्षेत्रबाट महानगरले उक्त रकम लिन्छ ।

महानगर क्षेत्रभित्र दैनिक तीन लाख ५० टन फोहोर उत्पादन हुन्छ । काठमाडौंको फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन गरिँदै आएको छ । निजी क्षेत्रले सिसडोलमा फोहोर फालेबापत ठूला गाडीको प्रतिटिप तीन सय ५० र साना गाडीले दुई सय ५० तिर्नुपर्छ । ‘उनीहरू (निजी क्षेत्र) ले सिसडोलमा फोहार फाल्ने मात्रै गर्छन् । त्यसपछिको व्यवस्थापन महानगरले गर्छ । त्यसैले न्यूनतम शुल्क लिएका हौँ,’ प्रवक्ता ईश्वरमान डंगोलले भने ।

महानगरले फोहोर व्यवस्थापनमा वार्षिक सात करोड ४५ लाख २० हजार खर्च गर्ने गरेको छ । फोहोर व्यवस्थापनमा उपत्यकाका अन्य स्थानीय तहले खर्च गर्दैनन् । अब भने महानगरपालिकाले अन्य स्थानीय तहसँग समन्वय गरेर खर्च बाँडफाँड गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । महानगरपालिकासँग नौ सय ५६ सफाइ मजदुर छन् भने फोहार संकलनका लागि २१ गाडी छन् । काठमाडौं उपत्यकामा वार्षिक तीन लाख सात हजार टनभन्दा बढी फोहोर उत्पादन हुने गरेको छ ।

फोहोर व्यवस्थापनमा संलग्न निजी संस्था महानगरमा सूचीकृत छैनन् । ०५९ सम्म महानगरमा फोहोर व्यवस्थापन गर्ने संस्था दर्ता भए पनि त्यसयता जनप्रतिनिधि नभएका कारण सूचीकृत नभएको डंगोलको भनाइ छ । अहिले निजी संस्थाले महानगरको टेकुस्थित वातावरण विभागमा कुपन लिएर शुल्क बुझाउने गरेका छन् । अहिले उपत्यकामा करिब ६० वटा र काठमाडौं महानगरभित्र ४२ वटा रहेको महानगरले जनाएको छ ।
महानगरपालिकाले फोहोर संकलन गर्ने ठाउँमा कर लगाएको छैन । तर, निजी क्षेत्रले संकलन गर्ने स्थानमा भने शुल्क लिने गरेका छन् । निजी कम्पनीले प्रतिघर र प्रतिपरिवारको हिसाबले शुल्क लिने गरेका छन् ।

वैकल्पिक ल्यान्डफिल साइटको खोजी
उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल ल्यान्डफिल साइट भरिएको छ । बन्चरे डाँडामा बन्ने भनिएको स्यानिटरी ल्यान्डफिल साइट निर्णय भएको दुई दशक भइसक्दा पनि बन्ने छाँटकाँट छैन । बन्चरेडाँडा प्रवेशमार्गमा पर्ने सिसडोललाई अल्पकालीन ल्यान्डफिल्ड साइटका रूपमा ०६२ सालदेखि प्रयोग गरिँदै आएको छ । तीन वर्षका लागि भनेर ल्यान्डफिल साइट बनाइएको सिसडोलमा फोहोर फाल्न थालेको १३ वर्ष बितिसकेको छ । वर्षा लागेपछि सिसडोलमा फोहोर फाल्ने अवस्था नहुने र बन्चरे डाँडामा समेत पूर्वाधार तयार हुने सम्भावना न्यून रहेको भन्दै महानगरले वैकल्पिक ठाउँको खोजी गरिरहेको जनाएको छ ।