यसरी बन्छ जिरो फिगर

86

फागुन २७,
काठमाडौँ -फेसन र जीवनशैलीमा लगातार आइरहेको परिवर्तनसँगै स्लिम बन्न चाहनेको संख्या बढिरहेको छ । त्यसैले, हिजोआज अधिकांश युवतीमा जिरो फिगर बनाउने चाहना हुन्छ । जिरो फिगर भएमा काम गर्न छिटो–छरितो हुने र लुगा लगाउँदासमेत राम्रो देखिने विश्वास छ । यसर्थ, किशोरी वा युवती मात्र नभएर अधबैँसे महिलासमेत शरीर स्लिम पार्ने प्रयास गरिरहेका हुन्छन् । अब जानौँ स्लिम बन्ने टिप्स ।

– स्लिम बन्ने निहुँमा अधिकांशले डाइटिङको बाटो अपनाउने गरेको पाइन्छ । यद्यपि, शारीरिक वृद्धि र विकास हुने उमेरमा डाइटिङ गर्दा शरीरलाई आवश्यक वस्तु आपूर्ति पनि नहुन सक्छ । यसले स्वास्थ्य समस्या निम्त्याउने सम्भावना उच्च रहन्छ । त्यसैले, स्वस्थ जीवनशैली अपनाएर तौल नियन्त्रण गरी स्लिम बन्न सकिन्छ ।
-शरीरलाई आवश्यक तत्व पुग्ने हिसाबले बिहानको खाना खानुपर्छ । जसमा सागसब्जी, सलाद, माछा, मासु, दूधजन्य परिकार हुन आवश्यक छ ।
– एकैपटक धेरै खाना खानुहँुदैन । थोरै–थोरै खाइरहनुपर्छ । एक दिनमा कम्तीमा पनि चारचोटि खानुपर्छ ।
– खाजामा गेडागुडी, फलफूल, तरकारी र फाइबर भएका खानेकुरा र जुस समावेश गर्नुपर्छ ।
– बेलुकाको खाना सकेसम्म कम र चाँडो खानुपर्छ । खाना खानेबित्तिकै सुत्नुहुँदैन ।
– बिहान उज्यालो हुनुभन्दा एक घन्टाअघि नै उठ्दा स्वस्थ्यमा धेरै फाइदा मिल्छ ।
– उस्तै पोजिसन र एकै ठाउँमा लामो समयसम्म बस्नुहँुदैन । स-साना काम गरिहनुपर्छ । जसले शरीरलाई स्फूर्त बनाउन मद्दत गर्छ ।
– बिहानको समयमा हलुका व्यायाम गर्न सकिन्छ ।
– तौल घटाउने बहानामा जुन पायो त्यही व्यायाम गर्नुहुँदैन । यसरी जथाभावी व्यायाम गरेमा त्यसले शरीरलाई बेफाइदा गरिरहेको हुन्छ । तौल घटाउने व्यायाम गर्दा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।
– फास्टफुड, अत्यधिक चिल्लो, गुलियो, फ्याटी खानेकुरा सकभर खानुहुँदैन । खानैपरे कम मात्र लिनुपर्छ ।