सिके राउतसँगको सहमति राष्ट्रघात : सभापति देउवा

174

फागुन २८,
पोखरा -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी गतिविधि गर्दै आएका सिके राउतसँग सरकारले गरेको सहमति राष्ट्रघाती भएको बताएका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सहमति लगत्तै सिके राउतले भनेका कुराहरु सुन्दा राष्ट्रघात भएको पुष्टिहुने हुने दाबी गरेका हुन।

सरकारसँग सहमति भएपछि पनि राउतले मधेशलाई छुट्टै राज्य बनाउँछु भनेको भन्दै उनले भने ‘सिके राउत पनि सहमति गर्ने मध्येको एक हस्ताक्षर कर्ता हुन्, सहमति भएलगत्तै सिकेले मधेश छुट्टै देश बनाउँछु, स्वतन्त्र मधेश, जनमत संग्रह भनेका छन्, त्यसैले यो राष्ट्रघाती सम्झौता हो।’ यदी जनमत संग्रह वा छुट्टै देश बनाउनेबारे सहमति नभएको भए सरकारले त्यसको खण्डन गर्नुपर्ने बताउँदै त्यसो नगर्दा झन् आशंका बढेको उनको भनाई थियो। उनले देशको कुनैपनि भुभाग टुक्राउने कामलाई कांग्रेसले नमान्ने बताए। देश टुक्राउने कुराको खिलाफमा कांग्रेस रहेको बताउँदै उनले थपे,’हामीलाई यो सह्य हुँदैन, हामी मान्दैनौं।’ उनले सिके राउतसँग सहमति गर्दा बिपक्षी दल कांग्रेससँग छलफल नगरेको भन्दै असन्तुष्टी व्यक्त गरे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले विप्लव नेतृत्वको नेकपाबिरुद्ध कार्वाही थाल्नुपर्ने बताए। हत्याहिंसा बढेको बताउँदै उनले भने ‘सँधै यसरी हुन्छरु अब विप्लवलाई कार्वाही गर्नुपर्छ।’सभापति देउवाले ओली सरकारले १ वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको दाबी गरे ।

सभापति देउवाले सँगै नुहाउँदैमा पार्टीमा भावनात्मक एकता हुन्छ भनेर आफूले पनि नभनेको बताए। पार्टीकै बरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दीको तातोपानीमा सँगै नुहाएको प्रसंग निकाल्दै सँगै नुहाउँदैमा पार्टीमा भावनात्मक एकता हुँदैन भनेको कुरालाई ईंगित गर्दै देउवाले भने,’मैलेपनि कहाँ भनेको छु र सँगै नुहाउँदैमा पार्टी एकता हुन्छ भनेररु’ कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आआफ्नो धारणा राख्ने छुट भएको उनको भनाई थियो।