चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्नुपर्ने माग, आयात गरिए आन्दोलन गर्ने चेतावनी

97

फागुन २८,
काठमाडौँ -पशुपंक्षी पालन सहकारी संघ नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले चीनबाट गाई आयत गर्ने सम्झौता खारेज गराउन संघीय सरकारको ध्यानाकार्षण गराएको छ ।

संघका केन्द्रीय अध्यक्ष बाबुराम अधिकारीले प्रदेश सरकारले चीनका कम्पनीसँग गरेको सम्झौता कार्यान्वयनमा आए नेपालका दुई हजाभन्दा बढी सहकारीमा आबद्ध ५ लाख किसान विस्थापित हुने चिन्ता व्यक्त गरे । ‘प्रदेश सरकारले चीनका विभिन्न कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयन भयो भने नेपालका किसानहरु पनि ठूलो मारमा पर्छन्’, उनले भने, ‘यहाँ बेरोजगारी सिर्जना हुने अवस्था आउँछ । यसतर्फ राज्यले विशेष ध्यान दिन जरुरी छ ।’

दुग्ध तथा मासुजन्य उत्पादनमा देश आत्मनिर्भर हुँदै गैरहेको अवस्थामा कृषिको सबै क्षेत्रमा वैदेशिक लगानी भित्रँदा स्वदेशी लगानीमा स्थापित कृषिजन्य उत्पादन विस्थापन हुनजाने खतरा पनि अध्यक्ष अधकिारीले औंल्याए । ‘सहकारीमा आवद्ध ५ लाख र त्यो भन्दा बाहिर रहेका ६ लाख गरि ११ लाख किसानहरु विस्थापित हुने अवस्था छ’, उनले भने, ‘उनीहरु अब विदेश पलायन हुने खतरा आइसकेको छ । त्यसैले राज्यले यसमा अहिले नै विशेष ध्यान पुर्‍याउनुपर्छ ।’

अधिकारीले अहिले पनि पूर्वाधारको विकास नहुँदा किसानले उत्पादन गरेका कृषिजन्य सामानहरुले सहज बजार नपाएको पनि दुःखेसो पोखे । ‘अहिले पनि बाटोघाटोको राम्रो सुविधान नहुँदा किसानको वार्षिक ७ लाख मेट्रिक टन दुध खेर गैरहेको छ । स्थानीय तथा प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ’, उनले थपे । नेपालका उन्नत नश्लका बाछीहरु स्वदेशमै संरक्षण तथा व्यवस्थापन हुन नसकी अहिले भारततर्फ पलायन भइरहेको पनि अधिकारीले सुनाए । उनले भने,‘यसतर्फ पनि राज्यले ध्यान दिनुपर्छ ।’

संघले विज्ञप्ती पनि जारी गरेको छ । ‘हालै मन्त्रिपरिषद्बाट पारित भई संसदमा निर्णयार्थ पेश भएको कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विधयक र नेपाल सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडाको तहबाट मन्त्रीस्तरीय निर्णय गरी प्रदेश २, ३ र गण्डकी प्रदेशलाई चिनबाट गाई आयात गर्न सहमति दिइएको र सोही आधारमा प्रदेश नं। २, ३ र गण्डकी सरकारले चिनबाट गाई ल्याउन गरेको सम्झौता प्रति हाम्रो ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ ।नेपालमा पशुजन्य उत्पादनको आपूर्ति हालसम्म पनि निर्वाहमुखी किसानहरुबाटै हुँदै आएको संघले जनाएको छ । संघका अनुसार नेपालमा पछिल्लो तथ्याङ्ग अनुसार दुधालु गाईको संख्या १२ लाख रहेकोमा करिब ४ लाख गाई उन्नत नश्ल सुधार गरिएको छ ।

चिनियाँ गाई आयातसम्बन्धी सम्झौता तत्काल खारेज गरी कृषि तथा पशुपालन क्षेत्रमा विदेशी लगानी रोक्न कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विद्येयक तत्काल फिर्ता लिन यस संघ सरकारसँग जोडदार माग गर्दछ ।