१ जनवरी २०२० मा बुटिक विमानस्थल उद्घाटन

128

नयाँ पत्रिका,चैत ३,
काठमाडौँ -१ जनवरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ बुटिक विमानस्थलका रूपमा उद्घाटन हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि पारित गरेसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुने भएको हो ।

विमानस्थल देशको कला–संस्कृति झल्कने तर आधुनिक सेवा सुविधा उपलब्ध हुने गरी रूपान्तरण हुनेछ । त्यसका लागि पहिलो चरणमा चैतभित्र टर्मिनल, बगँैचालगायतमा सुधार गर्ने पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । त्यस्तै, दोस्रो चरणमा वैशाखदेखि १५ पुसभित्र सबै कार्य सम्पन्न गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई बुटिक विमानस्थलका रूपमा रूपान्तरण गरिने सहसचिव उपाध्यायले जानकारी दिए ।

यस्तो हुनेछ बुटिक विमानस्थल
विमानस्थलभित्र देशको कलाकौशल, भौगोलिक महत्व, इतिहाससम्बन्धी झल्को दिने विभिन्न पूर्वाधार बनाइनेछन् । नेपाल भित्रिने पर्यटकको पहिलो प्रभाव विमानस्थलबाटै पर्ने भएकाले त्यसको सुधारमा ठोस कदम चाल्न लागिएको मन्त्रालयका सहसचिव उपाध्यायको भनाइ छ । विमानस्थलमा राखिएका जथाभावी होडिङ बोर्डहरूलाई व्यवस्थित गरिनेछ । नेपाली परम्परागत शैलीका आँखीझ्यालहरू राखिनेछन् र विमानस्थलाई सफासुग्घर बनाइनेछ । विमानस्थलभित्र नेपाली हस्तकलाका सामानहरू पनि राखिनेछन् । त्यसैगरी, काष्ठकला, मूर्तिकला, धातुकलाका उत्पादनहरू आकर्षक तरिकाले राखिनेछ । भन्सार र विमानस्थलका कार्यालयका स्वरूपहरू फेरिनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिने पर्यटकलाई नेपालप्रति सकारात्मक प्रभाव पार्ने प्रयास गरिने मन्त्रालयको भनाइ छ ।

तीन समिति गठन
कार्यविधिले बुटिक विमानस्थल निर्माण गर्न विभिन्न तहका तीनवटा समिति गठन गरेको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनाइएको छ । त्यसैगरी, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको संयोजकत्वमा अनुगमन समिति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकको संयोजकत्वमा कार्यान्वयन समिति गठन गरिएको छ । तीनवटै समितिले सन् २०२० को जनवरी १ मा बुटिक विमानस्थलको उद्घाटन गर्ने लक्ष्यसहित काम अघि बढाउनेछन् ।

प्राधिकरणले उपलब्ध गराउँछ बजेट
बुटिक विमानस्थल बनाउन आवश्यक पर्ने रकम नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउनेछ । प्रारम्भिक अनुमानअनुसार हालको संरचना परिवर्तन गरी बुटिक विमानस्थल बनाउन १५ करोड लगानी लाग्नेछ । तर, यकिन आकलन भने पहिलो चरणको कामपछि निश्चित हुने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । कार्ययोजना कार्यान्वयनमा लाग्ने सबै रकम प्राधिकरणले उपलब्ध गराउनेछ ।

यसरी सुरु भयो अवधारणा
हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बुटिक विमानस्थलको अवधारणा अघि सारेका थिए । उनको निधनपछि २८ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यविधि पारित गरेसँगै बुटिक विमानस्थल बनाउने बाटो खुलेको हो । विमानस्थल पर्यटक आगमनको द्वार भएकाले यसको सुधार समयमै गर्न सकिएमा पर्यटन वर्षमा सफल हुने पर्यटन मन्त्रालयको भनाइ छ ।