अन्तर्राष्ट्रिय विमानस्थलले विमान कम्पनीबाट करिब साढे दुई अर्ब उठाउन बाँकी

54

चैत ३
काठमाडौँ -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल एयरलाइन्स, सौर्य एयर लाइन्स, एयर इन्डियालगायतका कम्पनीबाट करिब दुई अर्ब ३५ करोड बक्यौता रकम लिन बाँकी रहेको जनाएको छ । नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार विभिन्न विमान कम्पनीले विमानस्थललाई सो बक्यौता रकम बुझाउन बाँकी रहेको बताएका हुन् । आइतबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले ५० लाख रुपैयाँ भने भुक्तानी हुने क्रममा रहेको बताए ।

लेखा समितिका सदस्यले भने विमानस्थलका कर्मचारीको मिलमेतोमा सो बक्यौता रकम हिनामिना भएको हुन सक्ने भन्दै आक्रोश व्यक्त गरेका थिए । सदस्य राजन्द्रकुमार केसीले अर्बौँ रकम गैरजिम्मेवार ढंगले उठाउने काम नगरेको भन्दै त्रिभुवन विमानस्थलका पदाधिकारीप्रति आक्रोश व्यक्त गरे ।

समितिका अर्का सदस्य विरोध खतिवडाले अदालतको मुद्दा नै नभएका विमान कम्पनीहरुको बक्यौता रकम किन असुल नगरेको भनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीमाथि प्रश्न गरेका थिए । उनले हिनामिना गरेर खाने अनि बक्यौता रकम देखाउने काम कर्मचारीबाट हुने गरेको आरोप लगाउँदै कारबाही हुनु पर्ने चेतावनी दिए । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने ३ महिनाभित्र बक्यौता रकम असुल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सार्वजनिक लेखा समितिको निर्देशन र प्रचलित कानुनअनुसार तीन महिनामा बक्यौता रकम नदिने कम्पनीको विमान संचालनमा रोक लगाउने चेतावनी दिए ।

विमानस्थलसँग सम्झौता गरेर सेवा प्रवाह गरिरहेका वायु सेवा निगमलगायतका संघ, संस्थाहरुको बुझाउन बाँकी बक्यौता रकम धेरै भएको पाएपछि त्यससम्बन्धमा सार्वजनिक लेखा समितिले आइतबार सरोकारवाला निकायसँग छलफल गरेको हो । समितिले कुन–कुन कम्पनीको कति बक्यौता रकम बुझाउन बाँकी रहेको हो रु त्यसको सम्पूर्ण विवरण झिकाएर दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको छ ।-नयाँ पत्रिका