बिएभन्दा बिएस्सीको नतिजा कमजोर, त्रिचन्द्र कलेजमा विज्ञान विषयको क्षमता ९६०, विद्यार्थी ३५००

69

चैत ४, नयाँ पत्रिका,
काठमाडौं,

-उपकरण नै नदेखी सकिन्छ विज्ञानको पढाइ

-त्रिचन्द्रमा क्षमताभन्दा तेब्बर बढी विज्ञानका विद्यार्थी भर्ना

त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये २४ मा विज्ञान कार्यक्रम सञ्चालित छ । तर, अधिकांश क्याम्पसमा यस विषयको पठनपाठनको अवस्था नाजुक देखिन्छ । कतिपय क्याम्पसमा प्रयोगात्मक उपकरण नै देख्न नपाई पढाइ सक्नुपर्ने अवस्था छ । क्षमताभन्दा बढी विद्यार्थी, शिक्षक अभाव, प्रयोगशाला अभाव, लापरबाहीजस्ता समस्याले विज्ञान कार्यक्रम सञ्चालित देशभरका क्याम्पसलाई गाँजेको देखिन्छ ।

विश्वविद्यालय अनुदान आयोगले बिएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसहरूको अवस्था अध्ययन गर्न प्रा.डा. राजु खनालको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिले त्रिविका २४ र मध्यपश्चिम तथा सुदूरपश्चिम विश्वविद्यालयको अवस्था अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनअनुसार पछिल्ला वर्षमा बिएमा भन्दा बिएस्सीको नतिजा कमजोर छ । ०७४ मा बिएस्सीका ४०.५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । सोही वर्ष बिएमा भने ४४.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ०७३ मा पनि स्नातक तहमा बिएस्सीको भन्दा बिएको नतिजा राम्रो छ । सो वर्ष बिएस्सीमा ३५.९९ र बिएमा ३९.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

समितिले बुझाएको ‘बिएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिरहेका आंगिक क्याम्पसहरूको अवस्था प्रतिवेदन, २०७५’ ले कतिपय क्याम्पस विज्ञान कार्यक्रम सञ्चालन गर्न अनुपयुक्त भएकाले बन्द गर्नसमेत सिफारिस गरेको छ ।

त्रिचन्द्र कलेज : विज्ञानमा क्षमता ९६०, विद्यार्थी ३५००
त्रिविको विज्ञान विषयको कुल क्षमताको ४० प्रतिशत विद्यार्थी त्रिचन्द्रमा पढ्छन् । अध्ययन समितिले त्रिचन्द्रमा विज्ञानका सबै विषयमा गरी कुल ९ सय ६० विद्यार्थी क्षमता रहेको ठहर गरेको छ । यहाँ १८ वटा फरक समूहमा विज्ञान विषय पढाइ हुन्छ । तर, यहाँ ३५ सय विद्यार्थी भर्ना हुन्छन् ।

त्रिचन्द्रमा प्रयोगात्मक पढाइको अवस्था पनि नाजुक छ । फिजिक्समा एउटा प्रयोगात्मक कक्षामा १२० जनासम्म राखेर पढाइन्छ र परीक्षा लिन मात्र ४५ दिन लाग्ने गरेको छ । माइक्रोबायोलोजीमा करिब १२ सय विद्यार्थी हुने र ६०–७० जनाको समूहमा प्रयोगात्मक हुने गरेको छ । केमेस्ट्री अध्ययन गर्ने विद्यार्थीलाई केमिकल अभाव छ । बायोलोजी, बायोकेमेस्ट्रीलगायत विषयमा नयाँ कोर्स पढाउने शिक्षकसमेत नभएको विद्यार्थीको गनासो छ ।

अध्ययन समितिले कलेजको प्रयोगशाला पुनर्निर्माण गर्न सिफारिस गरेको छ । अहिलेको प्रयोगशालाको क्षमताअनुसार ९६९ विद्यार्थी कोटा तोक्न पनि समितिले सिफारिस गरेको छ ।

भक्तपुर बहुमुखी क्याम्पस : एक शिक्षकबराबर तीन विद्यार्थी, तर उपकरण प्रयोगविहीन
भक्तपुर बहुमुखी क्याम्पसमा विज्ञान कार्यक्रममा कुल विद्यार्थी संख्या १३८ छ । तिनलाई पढाउन २५ पूर्णकालीन र १८ आंशिक शिक्षक छन् । तीन विद्यार्थीबराबर एक शिक्षकको अनुपात हुँदा पठनपाठनको गुणस्तर उच्च हुनुपर्ने हो । तर, क्याम्पसको स्थिति त्यस्तो छैन । प्रयोगशाला र उपकरण प्रयोगविहीन छन् । विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयले क्याम्पसको बोटानिकल डिपार्टमेन्टलाई दिएको अटोक्लेव, ओभन, इन्कुभेटर प्रयोगमै आएका छैनन् । बायोलोजी र बोटानीमा टिस्युकल्चर र मलिक्युलर बायोलोजीको पाठ्यक्रम रहे पनि प्रयोगशाला र पढाउने शिक्षक छैनन् । केही उपकरणको ‘सिपिङ बक्स’ नै खोलिएको छैन ।

पद्मकन्या क्याम्पस : प्रयोगशाला छन्, प्रयोग छैन
पद्मकन्या क्याम्पसमा पाठ्यक्रममा भएका विषयको प्रयोगात्मक अध्ययन हुने गरेको छैन । बायोलोजी, बोटानी र माइक्रोबायोलोजीमा प्रयोगात्मक हुँदैन । केमेस्ट्रीमा स्पेक्ट्रोफोटोमिटर भए पनि सञ्चालनमा छैन । सो उपकरण शिक्षकलाई समेत चलाउन नआएको गुनासो विद्यार्थीले गरेका छन् । फिजिकल केमेस्ट्रीको प्रयोगशाला नै छैन । बोटानीमा टिस्यु कल्चरसम्बन्धी प्रयोगात्मक कक्षा हुँदैन भने माइक्रोबायोलोजीमा कोर्सअनुसार २० प्रतिशत पनि प्रयोगात्मक हुँदैन ।

अमृत साइन्समा उपकरण र सामग्री अभाव
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा प्रयोगशालामा उपकरण र सामग्री अभाव छ । कम्प्युटेसनल ल्याब पढाउने शिक्षक छैनन् । केमेस्ट्रीको अनुसन्धान प्रयोगशाला निकै सानो छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस ः चाहिनेभन्दा नचाहिने केमिकल बढी
भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्रयोगशालाको अवस्था दयनीय छ । प्रयोगशालामा गुणस्तरहीन सामग्री आउने र पाठ्यक्रमअनुसारको प्रयोगात्मक नहुने अवस्था छ । बोटानी विभागमा सामान भएर पनि विषयगत शिक्षक अभावमा टिस्यु कल्चरको प्रयोगात्मक कक्षा हुन सकेको छैन । केमेस्ट्री शिक्षकका अनुसार क्याम्पसमा चाहिनेभन्दा नचाहिने केमिकल बढी आउँछ । निजी कलेजमा धाउने शिक्षकका कारण पठनपाठन नै प्रभावित भएको छ ।

पृथ्वीनारायण क्याम्पस : प्रयोगात्मकमा क्षमताभन्दा दुई गुणा विद्यार्थी
पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा केही विषयका प्रयोगात्मक कक्षामा समस्या छ । फिजिक्समा प्रयोगशालाको क्षमताभन्दा दुई गुणा बढी विद्यार्थी सहभागी हुने गरेका छन् । केमेस्ट्रीमा केमिकल अभाव छ । बायोलोजीमा माइस्क्रोस्कोपसमेत अभाव छ । पुराना शिक्षकले नोट दिने, तर राम्रोसँग नपढाउने समस्या छ । शिक्षक निजी कलेज धाउँछन् ।

ठाकुरराम बहुमुखी क्याम्पस : अयोग्य प्रयोगशाला
वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका कुनै पनि प्रयोगशाला विद्यार्थीका लागि प्रयोग योग्य छैनन् । मलिक्युलर बायोलोजीको प्रयोगात्मक हुँदैन । केही विषयमा उपकरण अभाव हुने गरेको छ । गणित र तथ्यांकशास्त्रका लागि कम्प्युटर प्रयोगशाला छैन ।

रामस्वरूप–रामसागर बहुमुखी क्याम्पस : २० वर्षदेखि आएको छैन सामान
जनकपुरस्थित रामस्वरूप–रामसागर बहुमुखी क्याम्पसका प्रयोगशालासमेत प्रयोगयोग्य छैनन् । क्याम्पसमा २० वर्षदेखि विज्ञानका सामान आएका छैनन् । कतिपय शिक्षक पढाउनसमेत योग्य नभएको विद्यार्थीले गुनासो गरेका छन् । क्याम्पसमा बोटानीबाहेकका विषयमा प्रयोगात्मक कक्षा हुँदैन ।

सूर्यनारायण–सत्यनारायण क्याम्पस : बिएस्सी बन्द गर्न सुझाब
सिरहाको सूर्यनारायण–सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसमा बिएस्सी कार्यक्रम अत्यन्तै कमजोर छ । पहिले आइएस्सी हुँदा सञ्चालनमा आएको प्रयोगशाला अहिलेसम्म सुधार र स्तरोन्नति गरिएको छैन । बायोलोजी र केमेस्ट्रीमा कुनै प्रयोगात्मक हुँदैन । विद्यार्थी संख्या पनि थोरै छ । अध्ययन समितिले सो क्याम्पसको बिएस्सी कार्यक्रम बन्द गर्न सुझाब दिएको छ ।

महेन्द्र विन्देश्वरी : प्रयोगात्मक उपकरणमा खिया
राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पसको विज्ञान कार्यक्रम भद्रगोल छ । उपकरणमा खिया लागेका छन् । प्रवीणता प्रमाणपत्र तह हुँदा जे अवस्थामा सञ्चालन थियो अहिले सोही अवस्थामै छ । उपकरण पुराना र लामो समय प्रयोगमा आएका छैनन् । ग्लास बोतलमा रहेका केमिकल सुकेका र प्रयोगशालामा डिस्टिल वाटर बनाउने मेसिन खिया लागेर बिग्रिएका छन् । प्रयोगशालामा माइक्रोबायोलोजी कल्चरको व्यवस्था छैन । त्यसैगरी पाठ्यक्रमअनुसार मलिक्युलर बायोलोजी, बायोकेमेस्ट्रीको प्रयोगशाला स्थापना नै गरिएको छैन ।

स्नातकोत्तर क्याम्पस : शिक्षकले बाँड्छन् कीर्तिपुरको फोटोकपी
विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा उपकरण र प्रयोगशालाको अवस्था राम्रो छैन । उपकरण चल्दैनन्, प्रयोगशाला कक्षा धुलाम्मे र फोहोर छन् । फिजियोलोजी, प्याथोलोजी, जिनेटिक्स, साइटोलोजीजस्ता विषयमा प्रयोगात्मक कक्षा हुन सकेका छैनन् । पुस्तक छैनन् । शिक्षक अभाव छ । कीर्तिपुरबाट फोटोकपी गरेर ल्याइएका नोट विद्यार्थीलाई बाँडिन्छ । डिन कार्यालयबाट आएका उपकरण सबै गुणस्तरहीन छन् ।

केन्द्रीय प्रविधि क्याम्पस : अवस्था राम्रो
धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको अवस्था भने राम्रो छ । केही विषयबाहेक अन्यमा उपकरणको व्यवस्था छ । खाद्य प्रविधिको पाठ्यक्रमअनुसार करिब ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन भएका छन् । शिक्षक र विद्यार्थीको सहकार्यमा विभिन्न खाद्यसामग्रीसमेत उत्पादन गरिएको छ । विद्यार्थीले जुस, सिस्नो पाउडर उत्पादन गरेका छन् । प्रयोगात्मक कक्षा राम्रो भएका कारण पनि खाद्य प्रविधिमा विद्यार्थीको आकर्षण बढेको छ ।