आईपीएलमा जानुअघि सन्दीप भन्छन् -‘मेरो काँधमा धेरै जिम्मेवारी थपिएको छ’

108

चैत्र ५,
काठमाडौँ — अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटका पहिलो नेपाली स्टार सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ संस्करणका लागि तयार छन्, फेरि एकपल्ट आफूलाई सिद्ध गर्न । गत वर्ष दिल्ली डेयर डेभिल्ससँग आवद्ध हुँदा उनी नयाँ थिए, धेरै हदसम्म कच्चा पनि थिए । त्यसैले उनले त्यति बेला धेरै मौका पनि पाएनन् । दिल्लीको टिमले अनुबन्ध गरेपछि उनी विश्व क्रिकेटका लागि सनसनीपूर्ण समाचार भने बनेका थिए ।

यसपल्ट यी किशोर लेग स्पिनर आफ्नो नयाँ अवतारसँगै प्रस्तुत हुनेछन् । र, यो अवतार हुनेछ, अनुभवी सन्दीपको । तय छ, यसपल्टको आईपीएलमा दिल्ली क्यापिटल्सका लागि उनको भूमिका वृहत र लामो हुनेछ । उनलाई दिल्लीले टिमका मुख्य प्रभावशाली खेलाडीका रूपमा मैदानमा उत्रनेछ । उनी बुधबार होलिकै दिन बिहान दिल्ली जाँदैछन् र त्यसको अघिल्लो दिन नेपाली मिडियासामू प्रस्तुत भए । उनले भने, ‘मलाई पूरा विश्वास यसपल्ट मैले धेरै भन्दा धेरै मौका पाउने छु ।’

उनले थपे, ‘म निकै उत्साहित छु । मलाई लाग्छ, यसपल्ट मेरो काँधमा धेरै जिम्मेवारी थपिएको छ । गत वर्ष दिल्लीबाट खेलेयता मैले नेपालसँगै अरू फ्रेन्चाइज टिमबाट पनि खेलेँ । त्यसबाट मैले धेरै अनुभव बटुलेको छु । त्यसैले यसपल्ट फेरि एकपल्ट शत प्रतिशत प्रदर्शनका लागि प्रयास गर्ने छु । मलाई लाग्छ, यसपल्ट म धेरै दबाबबाट गुज्रिने छैन् । मेरो लागि राम्रो प्रदर्शन गर्ने भने चुनौती हुनेछ । विश्वास गरौं, मेरो प्रदर्शन राम्रो हुनेछ ।’

गत वर्ष उनले दिल्लीका लागि तीन खेल मात्र खेल्न पाए, त्यो पनि दिल्लीको प्रतियोगितामा चुनौती समाप्त भइसकेपछि । तर पनि उनले आफ्नो उपयोगिता भने सिद्ध गरे । उनले तीन खेले खेले र त्यसमा ७२ बल फ्यालेर ८२ रन दिए । त्यसमा उनले पाँच विकेट लिए । उनको उच्च प्रदर्शन रह्यो, तीन विकेटमा ३६ रन । सन्दीपले त्यति बेला कम मौका पाए पनि उनको प्रदर्शनको भने प्रसंशा नै भएको थियो । त्यसै प्रदर्शनले उनका लागि अरूतर्फ खेल्ने बाटो पनि खोलेको थियो ।

सन्दीपले गत वर्षको आईपीएल खेलेयता अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटको ठूलो अनुभव बटुलिसकेका छन् । उनले पछिल्लो पटक पाकिस्तानको सुपर लिगमा खेलेका थिए । त्यस्तै उनले अस्ट्रेलियाको बिग बाससँगै बंगलादेश, क्यानाडा, हङकङ, यूएई र वेस्ट इन्डिजमा खेलिसकेका छन् । यसपल्टको आईपीएल केही दिनमै सुरु हुँदैछ र तय छ, सारा नेपाली क्रिकेट प्रशंसक सन्दीप र दिल्लीको खेल पछ्याउन ब्यस्त हुनेछन् । कान्तिपुर बाट