धुर्मुस-सुन्तली फाउन्डेशनको आयोजनामा ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’

83

चैत ५
काठमाडौं -धुर्मुस–सुन्तली फाउन्डेशनले यही चैत्र २३ गते काठमाडौंमा ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्यमा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गर्न लागेको हो । फाउन्डेशनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सो खेल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले निर्माणाधिन अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्न सबैलाई अपिल गरे । उनले सो क्रिकेट मैदान निर्माण गर्न लागेकोमा सम्पूर्ण क्रिकेट खेलाडीहरुले गौरवको महशुस गरेको उल्लेख गर्दै त्यसमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतियोगितामा कलाकार र राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । क्रिकेट खेलाडीहरुको टिमको नेतृत्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने कलाकारहरुको टिमको नेतृत्व वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन् । फाउन्डेशनले निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो खेल हेर्न ३ सय र १ हजार दरको टिकटको पनि व्यवस्था गरेको छ ।

करिव ३ अर्ब लागत अनुमान गरिएको सो अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहायता आउने क्रम जारी रहेको पनि फाउन्डेशनले जनाएको छ । -नयाँ पत्रिका