ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोर सञ्चालनमा ल्याइने

82

चैत १९,
काठमाडौँ -काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ। उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौं महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा चैत ११ र १२ मा नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा सरकारी तथा गैरसरकारी निकायसँग ट्राफिक सुधारका लागि आगामी दिनमा चाल्नुपर्ने कदमबारे छलफल गरिएको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त उपत्यकामा बढ्दै गएको ट्राफिक जामलाई कम गर्न तत्काल करिडोर निर्माण गर्नुपर्ने आवश्यक रहेको बताउँछन्। उनले भने, ‘उपत्यकाको ट्राफिक सुधारमा करिडोर निर्माणले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।’ महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तीन महिने कार्ययोजनासमेत तयार पारेको छ। महाशाखाले बालकुमारी पुलमुनि, गोपीकृष्ण पुलमुनि, रातोपुलमुनि, सेतोपुलमुनि, कालोपुलमुनि र भत्केको पुलमुनिको करिडोर तत्काल निर्माण गर्नुपर्ने बनाएको छ। यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहेका छन्। तीमध्ये ११ लाख हाराहारीमा सवारीसाधन काठमाडौं उपत्यकामा सञ्चालित छन्। उक्त सवारीसाधनलाई व्यवस्थापन गर्न उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति खटिँदै आएको छ।-रासस