धर्मगुरु दलाई लामा अस्वस्थ, अस्पताल भर्ना

71

चैत २७, बीबीसी,
काठमाडौँ -भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा अस्वस्थ भएपछि दिल्लीस्थित एउटा अस्पताल भर्ना भएका छन्। उनलाई छातीमा सङ्क्रमण भएको तर उनको स्थिति स्थिर रहेको बताइएको छ। उनी ८३ वर्षका भए। उनका सहयोगी तेन्जिन ताक्लाका अनुसार दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो। चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका थिए। उनले नोबेल शान्ति पुरस्कार पनि पाएका छन्। उनले प्रवचन दिएर विश्वभरि ख्याति पनि कमाएका छन्।

“चिकित्सकहरूले उहाँको छातीमा सङ्क्रमण भएको पत्ता लगाएका छन् र त्यसकै उपचार हुँदैछ,” ताक्लाले समाचारसंस्था रोएटर्सलाई बताए। उनका अनुसार दलाई लामाको दुई-तीन दिन उपचार हुनेछ। चीनले सन् १९५० मा तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो।उसले दलाई लामालाई पृथक्तावादी नेता मान्छ। तिब्बती बौद्धमतमा दलाई लामा पुनर्जन्म लिएका अवतार हुन्।

दलाई लामाको उत्तराधिकारी को हुने भन्ने विषय अनिश्चित तथा विवादास्पद मानिन्छ। चीनले आफूसँग दलाई लामाको उत्तराधिकारी छान्ने अधिकार भएको दाबी गर्ने गरेको छ। तर गत महिना मात्रै दलाई लामाले चीनद्वारा छानिने व्यक्ति तिब्बतीहरूलाई मान्य नहुने आफ्नो पुरानो अडान दोहोर्‍याएका थिए। हजारौँ तिब्बतीहरू भारतमा निर्वासनमा बस्दै आएका छन्। केही तिब्बती शरणार्थीहरू नेपालमा पनि छन्।