विश्वकप २०२२ छनोटमा नेपालले सिधै दोस्रो चरणमा खेल्न पाउने

68

चैत्र २९,
काठमाडौँ — पछिल्लोपल्टको फिफा वरीयतामा एसियाको शीर्ष ३४ स्थानमा रहेपछि नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । सन् १९८६ को संस्करणबाट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलोपल्ट ‘बाई’ पाएर सिधै दोस्रो चरणमा खेल्ने अवसर पाएको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले पछिल्लोपल्ट ४ अप्रिल, २०१९ मा जारी गरेको वरीयतामा नेपाली पुरुष टिम १ सय ६१ औं स्थानमा रहेको थियो, जुन एसियाली वरीयतामा ३४ औं स्थान हो ।

एसियाली फुटबल महासंघ ९एएफसी० का अनुसार एसियाली वरीयताका शीर्ष ३४ टिमले छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने जनाएको छ । त्यसैअनुसार नेपालले विश्वकप छनोटमा पहिलोपल्ट सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने मौका पाएको छ । वरीयतामा पुछारका १२ टिम ९३५–४६ औं० प्ले–अफबाट गुज्रिनेछन् ।

नेपालले विश्वकप छनोटमा प्रवेश गरेको ३३ वर्षे इतिहासमा सन् २०१४ को संस्करणमा मात्र प्रारम्भिक चरण पार गरेर दोस्रो चरण खेलेको थियो । दशरथ रंगशालामा भएको प्ले–अफमा टिमोर लेस्टेलाई २–१ र ५–० ले पराजित गरेको नेपाली टिम त्यस बेला दोस्रो चरणमा जोर्डनविरुद्ध हारेको थियो । अम्मानमा ९–० ले हारेको पाँच दिनभित्रै नेपालले भरत खवासको आकर्षक गोलसँगै घरेलु मैदानमा भएको दोस्रो लेगमा जोर्डनलाई १–१ मा रोकेको थियो ।

साथै विश्वकप २०२२ छनोटलाई एएफसीले एसियन कप २०२३ को छनोटका रूपमा पनि लिएको छ । त्यस्तै पछिल्लो संस्करणमा पनि दुई प्रतिष्ठित प्रतियोगिताको छनोट उस्तै संरचनामा भएको थियो । त्यसमा नेपाली टिम प्ले–अफमै भारतविरुद्ध हारेको थियो । एएफसी सोलिडारिटी कप २०१६ विजेता भएपछि नेपालले अनपेक्षित रूपमा एसियन कप २०१९ छनोटको तेस्रो चरणमा खेल्ने अवसर पाएको थियो ।

राष्ट्रिय टिमको चार वर्षयताको नतिजाको आधारमा फिफा वरीयता तय गरिन्छ । त्यस प्रणालीमा ९९६ अंक जोडदै नेपाल १ सय ६१ औं स्थानमा रहेको हो । एसियामा नेपालभन्दा पछाडि मलेसिया (१६८), कम्बोडिया, मकाउ, लाओस, भुटान, मंगोलिया, बंगलादेश, ग्वाम, ब्रुनाई, टिमोर लेस्टे, पाकिस्तान र श्रीलंका छन् । उनीहरूमध्ये जुन, २०१९ मा हुने प्ले–अफ पार गर्ने ६ टिमले दोस्रो चरणमा मौका पाउनेछन् ।

एएफसी प्रतियोगिता समितिका अनुसार शीर्ष ३४ वरीयताका टिम र प्ले–अफबाट आउने ६ गरी कुल ४० टिम दोस्रो चरणमा हुनेछन् । पाँच–पाँच टिमलाई आठ समूहमा विभाजन गरी सेप्टेम्बर, २०१९ देखि जुन २०२० सम्म होम एन्ड अवेको आधारमा दोस्रो चरण सञ्चालन गरिनेछ ।

त्यसबाट समूह विजेता (८) र उपविजेतामध्ये उत्कृष्ट चार गरी १२ टिम विश्वकप २०२२ छनोटको फाइनल चरणमा प्रवेश गर्नेछन् । त्यससँगै ती दर्जन टिम एसियन कप २०२३ मा पनि छनोट हुनेछन् । अरू २४ टिम एसियन कपको छनोटमा कायमै रहने पनि एएफसीले जनाएको छ । Kantipur