चीनमा रेल दुर्घटना हुदाँ ६ जनाको मृत्यु

97

चैत २९,एजेन्सी,
बेइजिङ–मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएका थिए ।

हेनान प्रान्तको गोन्यीमा भएको यस दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका कर्मचारी र दुई जना स्थानीय गाउँलेको मृत्यु भएको पाइएको छ । रेलका डब्बा एकअर्कामाथि खप्टिएको अवस्थामा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । अधिकारीहरुले घटनाको अनुसन्धान पनि शुरु गरेका छन् । –एएफपी