पहिलो पटक अन्तरिक्षमा आफ्नै नेपाली भू–उपग्रह

70

बैशाख ४, बीबीसी,
काठमाडौँ -पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै ‘न्यानो स्याटलाइट’ अर्थात् सानो भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। सानै आकारको भए पनि नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले खुसी व्यक्त गरेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समयानुसार बिहीवार बिहान २:३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो। त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ।

नेपालीस्याट-१ (NepaliSat-1) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस नामक यानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पठाइएको हो। बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो। बर्ड्स-३ स्याटलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।

कत्रो छ नेपाली भू-उपग्रह?
नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभास मास्केका अनुसार नेपालीस्याट-१ न्यानो स्याटलाइट हो। अर्थात् यो निकै सानो आकारको भू-उपग्रह हो र यसको तौलको झन्डै एक किलो छ। उनको भनाइमा यो प्रविधिमा नेपालले अझै धेरै काम गर्न बाँकी छ। बीबीसी नेपाली सेवासँग उनले भने, “नेपाल सरकारबाट पहिलो पटक लगानी आएकोले यो सम्भव भयो। आफ्नै भू-उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती बाँकी नै छ। यो हाम्रो पहिलो पाइला हो।” उनको भनाइमा भू-उपग्रह प्रविधिमा नेपालले फड्को मार्न अझै धेरै काम गर्न बाँकी छ। त्यसको अर्थ निरन्तर नेपाल सरकारले विज्ञान प्रविधि र भू-उपग्रहको विकासमा लगानी गर्न आवश्यक छ।

यो भू-उपग्रहले के गर्छ?
मास्केका अनुसार यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ। यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ।