सबै निजी विद्यालय सामुदायिक विद्यालयमा मर्ज

637

बैशाख ५,
पाल्पा । पूर्वखोला गाउँपालिकाभित्र रहेका पाँचवटा निजी विद्यालय सामुदायिक विद्यालयमा मर्ज भएका छन्। पूर्वखोला गाउँपालिका दुई जल्पामा रहेको माउण्ट भू बार्डिङ स्कुलनजिकै रहेको शम्भु माध्यमिक विद्यालय,जल्पामै रहेको सरस्वती इङलिस बोर्डिङ स्कुल सोही ठाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयमा गाभिएका छन्। यस्तै वडा ३ मा रहेको पूर्वखोला बोर्डिङ स्कुल पूर्वखोलामा रहेको उद्वुद्ध माध्यमिक विद्यालय, वडा नम्बर ४ देवीनगरमा रहेको चीराग एजुकेशनल एकाडेमी सोही ठाउँमा रहेको मातृभूमि माध्यमिक विद्यालय र वडा ५ बीरकोटमा रहेको जोनन बोर्डिङ स्कुल सोही ठाउँमा रहेको गणपति माध्यमिक विद्यालयमा मर्ज भएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए। उनका अनुसार निजी विद्यालयमा निर्माण भएका भौतिक संरचनाको मुआब्जा दिने र बोर्डिङ स्कुलमा कार्यरत शिक्षकलाई जुन विद्यालयमा गाभिएका छन्। सोही सामुदायिक विद्यालयले हाल खाइपाइ आएको सेवा सुविधासहित करारमा नियुक्त गर्ने सहमति भएको छ।

स्थानीय तह, संघ र प्रदेश सरकार तथा कुनै दातृ निकायहरूको सहयोगमा मुआब्जा फिर्ता दिने योजना रहेको अध्यक्ष थापाले सुनाए। चीराग एजुकेशनल एकाडेमी व्यवस्थापन समितिका अध्यक्ष सुकुनराज विकले बोर्डिङ स्कुलमा छोराछोरी पढाउनकै लागि गाउँबाट शहर जान बाध्य भएका यहाँका अभिभावकलाई गाउँमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले बोर्डिङ स्कुल खोलिएको र अहिले सामुदायिक विद्यालयले यस्तै प्रकृतिको शिक्षा दिन थालेपछि मर्ज भएको बताए। उनले भने, ुइङलिस मिडियामा सामुदायिक विद्यालयले कक्षा संचालन गर्ने भएपछि यहाँका विद्यार्थीलाई खर्च कम लाग्ने र गाउँ छाडेर शहर जानुपर्ने बाध्यताको समेत अन्त्य हुने।ु यहाँ रहेका पाँचवटा निजी विद्यालयमा कक्षा पाँचसम्म कक्षा संचालन हुँदै आएको थियो। यी विद्यालयमा ५८५ जना विद्यार्थी अध्ययनरत थिए भने शिक्षक र कर्मचारी ५३ जना कार्यरत थिए। आगामी पाँच वर्षमा यहाँको शैक्षिक गुणस्तरलाई प्रभावकारी, सहज र सुलभ बनाउने उद्देश्यका साथ गाउँपालिका अगाडि बढेको अध्यक्ष थापाले बताए। विशेषगरी गाउँपालिकाभरि एउटै खालको शिक्षा प्रदान गर्ने लक्ष्यका साथ मर्ज गरिएको बताए।