मस्तिष्कघातबाट बच्ने कसरी ?

134

बैशाख ८,
काठमाडौं -मस्तिष्कमा रहेका धमनी फुटेर रक्तस्राव हुनु वा रगत जमेर रक्तनली थुनिई पोषक तत्व र अक्सिजन आपूर्ति रोकिँदा स्नायु तन्तु मर्नु मस्तिष्कघात हो । यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो, जसले अधिकांशमा पक्षघात निम्त्याउँछ । मस्तिष्कघात धरै किसिमका हुन्छन् । स्केमिक स्ट्रोक, हेमोह्र्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक (टिआइए) र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन् ।

प्रभाव
टिआइए मस्तिष्कघात भएमा तत्कालै आफैं रगत सञ्चालन हुन सक्छ, अर्थात् मस्तिष्कघात भइसकेपछि आफैँ निको हुन्छ । तर, यो एकदमै कम मात्रामा हुन्छ । यसबाहेक अन्य मस्तिष्कघात भएमा ज्यानै जाने, प्यारालाइसिस हुने, परनिर्भर हुने, निरन्तर चिकित्सा सेवा लिनुपर्ने खालको विकलांगता देखापर्छन् । यसरी मस्तिष्कमा परेको असरका आधारमा देखिने शारीरिक तथा मानसिक समस्यामध्ये पक्षघात सबैभन्दा खतरनाक हो ।

पक्षघात अकस्मात् हुने भएकाले विकलांग हुनबाट बिरामीलाई जोगाउन जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनुपर्छ । अचानक टाउको दुख्नु, रिगंटा लाग्नु, उभिन नसक्नु वा ढल्नु, बोली हराउनु, शरीर झमझम हुनु, होस हराउनु, बान्ता हुनु आदि मस्तिष्कघातका लक्षण हुन् ।

कारण
विभिन्न कारण मस्तिष्कका नली बन्द हुनु मस्तिष्कघात हो । जसको प्रमुख कारण मुटुरोगलाई मानिन्छ । जमेका रगतका टुक्रा मुटुबाट ब्रेनमा गएर बस्न सक्छ, जसबाट स्ट्रोक हुन्छ ।

मोटोपन भएका व्यक्तिको नसामा बोसो जम्दा रक्तनली साँघुरिँदै जान्छ, यसबाट पनि स्ट्रोक हुन्छ । यसबाहेक उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, गलत खानपान वा जीवनशैली, तनाव आदि मस्तिष्कघातका कारण हुन् । सामान्यतया ५० वर्षमाथिका व्यक्तिमा यस्ता समस्या धेरै देखिन्छन् । रक्तश्रावसम्बन्धी समस्या भएमा मस्तिष्कघात हुने सम्भावना रहन्छ । जस्तैः गर्भनिरोधक औषधि सेवन गरिरहेका महिला, रगत बगिरहने घाउ चोट वा संक्रमण, रगत जम्ने रोग भएका व्यक्तिमा मस्तिकघात हुन सक्छ

उपचार
मस्तिष्कघात भएको साढे चार घन्टाभित्र उपचार गर्न सके विकलांग हुनबाट बचाउन सकिन्छ । अर्थात् जतिसक्दो चाँडो अस्पताल पुर्‍याउन सक्यो त्यति नै बिरामीलाई अन्य असरबाट बचाउन सकिन्छ । चिकित्सकले तत्काल जमेको रगतलाई तोडेर रक्तनली खुलाउने थ्रम्बोलाइसिस उपचार विधि प्रयोग गर्ने गरेका छन् । यो सेवा नेपालका केही अस्पतालमा उपलब्ध छ । मस्तिष्कघात भइसकेपछि अन्य समस्या आउन नदिन नियमित औषधि सेवन गर्नुपर्छ ।

प्यारालाइसिस भइसकेका व्यक्तिलाई पनि पुनस्र्थापना केन्द्रमा लगेर विभिन्न थेरापीबाट उपचार गर्न सकिन्छ । यसबाट बिरामीलाई परनिर्भर हुनबाट बचाउन सकिन्छ । विकलांग भइसकेका व्यक्रिलाई एक्सरसाइज, अक्कुपन्चर, थेरापी आदि प्रयोग गरेर पनि निको पार्न सकिन्छ ।

कसरी बच्ने
मुटुरोग भएका व्यक्तिमा मस्तिष्कघात हुने जोखिम रहन्छ । त्यसैले, मुटुरोगीले नियमित औषधि खाने वा उपचार गर्नुपर्छ । ५० वर्षमाथि उमेरका मानिसले नियमित मधुमेह, कोलेस्ट्रोल, रक्तचाप जाँच गराउनुपर्छ । जोखिम देखिएमा औषधि सेवन गर्नुपर्छ ।

सन्तुलित आहार तथा स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ । धेरै तनाव लिनुहुँदैन ।

मोटोपन भएका व्यक्तिले व्यायाम, योगलगायत अभ्यास गरेर तौल घटाउने प्रयास गर्नुपर्छ । धूम्रपान, मद्यपान आदि पनि मस्तिकघातका कारक हुन् ।

डा. जोशन न्यौपाने
नसारोग विशेषज्ञ
अन्नपूर्ण न्युरो अस्पताल, माइतीघर