यी हुन टेलिकमको फोजी सेवामा भएका सुविधाहरु

131

वैशाख ९,
काठमाडौँ । नेपाल टेलिकमले देशैभरी फोजी विस्तारको लागि काम सुरु गरेको छ । फोजी विस्तारको जिम्मा पाएका कम्पनीहरुले सर्वेक्षणको काम अन्तिम चरणमा पुर्‍याएको टेलिकमले जनाएको छ । टेलिकमको फोजी विस्तारको कूल लागत १८ अर्ब ७१ करोड छ ।

फोजीसहित थ्रीजी र टुजी

टेलिकमले देशैभर फोजी विस्तार गरे पनि टेलिकमका प्रयोगकर्ताले फोजी नै प्रयोग गर्नुपर्छ भन्ने छैन्। उनीहरुले आफ्नो आवश्यकता हेरी टुजी, थ्रीजी पनि प्रयोग गर्न सक्नेछन्।

स्पिड

टेलिकमले विस्तार गर्न लागेको फोजी नेटवर्कमा अधिकतम स्पिड १३० एमबीपीएस हुनेछ। थ्रीजी अपग्रेड गरी फोजी बनाउँदा अधिकतम स्पिड ३२ एमबीपीएस मात्रै हुन्छ। अहिले काठमाडौं र पोखरामा सीमित टेलिकमको फोजी सेवाको अधिकतम स्पिड ३२ एमबीपीएस मात्रै हो। यसैले टेलिकमले विस्तार गर्न लागेको फोजीको स्पिड धेरै हुनेछ।

भीओएलटीई

भ्वाइस ओभर एलटीई नाम दिइएको यो सुविधाले मोबाइल नेटवर्कमा हुने भ्वाइस कलको गुणस्तर बनाउँनेछ। डाटाको गतिजत्तिकै भ्वाइस -आवाज) को गति पनि बढ्नेछ। यसले फोन लाग्ने समय पनि घट्नेछ। साथै, यो सुविधामा भिडियो कल गर्नको लागि तेस्रो एपको आवश्यकता पनि आवश्यक पर्दैन।

भीओआइपी

यसमा हुने सुविधा भ्वाइस ओभर वाईफाई अर्थात भीओवाइफाई पनि हो। भिओवाइफाई भिओएलटीईकै विस्तारित रुप हो। यसको सबैभन्दा ठूलो सुविधा भनेको मोबाइलको नेटवर्क बिना पनि वाइफाइको सहयोगमा फोन लाग्नु हो। कुनै स्थानमा मोबाइल नेटवर्क कम छ वा छदै छैन तर वाइफाईमा मोबाइल कनेक्ट छ भने वाइफाईकै सहयोगमा अर्को मोबाइल नम्बरमा फोन गर्न सक्नु यसको विशेषता हो। अहिलेका चल्तीमा रहेका २० हजार मूल्य माथिका अधिकांश स्मार्टफोनले यो प्रविधि सपोर्ट गर्छन्। भारतमा पनि जियो सहितका केही मोबाइल सेवा प्रदायकहरुले भर्खरै यो प्रविधि परीक्षणको रुपमा सुरु गरेका छन्।

सेल्फ अर्गनाइजिङ नेटवर्क

टेलिकमको फोजी नेटवर्कमा पूर्णरुपमा स्वचालित सेल्फ अर्गनाइजिङ नेटवर्क (एसओएन) प्रविधि रहने छ। यसको अर्थ हो कुनै बीटीएस टावरमा कुनै समस्या आएर नेटवर्कमा गडबडी भए त्यो भन्दा पर रहेको अर्को बीटीएस टावरले त्यो समस्या बुझेर आफ्नो क्षेत्र बाहिरको मोबाइललाई नेटवर्क प्रदान गर्नेछ। यो पूर्ण रुपमा स्वचालित प्रविधि हुने टेलिकमले जनाएको छ।

टावर

फोजी विस्तारको क्रममा घना बस्ती र ठूला घरहरु भएका स्थानमा नेटवर्कलाई सुचारु बनाउन करिब ६ हजार साना टावर राखिने टेलिकमले जनाएको छ। काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरुमा यस्ता साना खालका टावर हुनेछन्। यस्ता टावरले नेटवर्कलाई बलियो बनाउन सघाउँनेछन्। घरको भूमिगत तलामा फोन नलाग्ने, धेरै भीड हुने स्थानमा फोन राम्ररी नसुनिने समस्या समाधानको लागि यसो गर्न लागिएको हो।

फाइभजी रेडीनेस

देशैभर टेलिकमले विस्तार गर्ने फोजीको नेटवर्क पछि फाइभजी विस्तार गर्नको लागि पनि उपयुक्त हुनेछ। देशैभर फोजी विस्तार पछि टेलिकमले परीक्षणको रुपमा काठमाडौंसहित पोखरा, नेपालगञ्ज र बिराटनगरमा फाइभी नेटवर्कको परीक्षण गर्नेछ। फाइभजी नेटवर्क अहिले पनि परीक्षणको चरणमा छ।

कसले पाए काम?

हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआइ) ले रेडियो एक्सेस नेटवर्क (र्‍यान) र जेडटीईले कोर नेटवर्क विस्तारको काम पाएका छन्। टेलिकमको टावरहरुबीच सम्पर्क स्थापित गराउने काम कोर नेटवर्कले गर्छ भने ग्राहकको फोनबाट टावरसँग सम्पर्क गराउने काम रेडियो एक्सेस नेटवर्कले गर्छ।

अहिलेको फोजी

अहिले नेपाल टेलिकम र एनसेलले दिइरहेको फोजी सेवा थ्रीजी नेटवर्कमा गरिएको अपग्रेड हो। टेलिकमले काठमाडौं र पोखरामा २०७३ पुस १७ बाट फोजी सेवा सुरु गरेको थियो। नेपालमा पहिलो पटक टेलिकमले फोजी सुरु गरेको भए पनि २०७४ जेठबाट फोजी सेवा सुरु गरेको निजी क्षेत्रको सेवा प्रदायक एनसेलले दुई दर्जन बढी सहरमा सेवा विस्तार गरिसकेको छ।- Kantipur