अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नेपाली स्याटेलाइट सफलता पूर्वक जोडियो

101

वैशाख ९
काठमाडौं । अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटेलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलता पूर्वक जोडिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट०ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटेलाइट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जोडिएको जनाएको हो । सो स्याटेलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको छ ।

सो नेपाली स्याटेलाइट वान गत वैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो । स्याटलाइट ३६ घण्टा ४० मिनेटपछि वैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले जानकारी दिनुभयो ।

अबको करिब डेढ महिनापछि सो नेपाली स्याटेलाइटले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ। नाष्टले सो नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपणका लागि करिब २ करोड लाग्ने अनुमान पनि गरेको छ। नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भइसकेको पनि जानकारी दिनुभयो ।