कृत्रिम हातको खुसी

113

नुनुता राई ( नयाँ पत्रिका)
बैशाख १०, काठमाडौं । ‘भोलि घर गएर पर्सि नै साइकल किन्ने,’ उदयपुर चुवाडेका ६ वर्षीय एन्सन बुढाथोकीले कृत्रिम हात लगाएपछि उत्साहित हुँदै बोले । जन्मदै बायाँ हातको हत्केला थिएन उनको । हात नभए पनि छोराको स्वास्थ्य ठीक भएकाले उनका आमाबुबालाई खास धेरै चिन्ताको विषय बनेन । तर, एन्सन जति बढ्दै जाँदै छ, त्यत्ति नै आमाबुबाको चिन्ता बढ्दै गइरहेको छ । अहिले एन्सन चुवाडेकै स्थानीय विद्यालयमा कक्षा एकमा पढ्दै छन् । छोरोले राम्रो पढेन भने भविष्यमा बलका काम गर्न सक्दैन भन्ने भयले बाबु एन्सनको पढाइमा दबाब बढाउँछन् । जसकारण बुबासँग खासै नजिकिँदैनन्, उनी ।

कृत्रिम हात लगाएपछि एन्सन फुरुंग भएका छन् । आफ्नो कृत्रिम हात हेर्दै मुस्कुराइरहेका उनी साइकल कुदाउने रहर पूरा हुने भएकाले दंग परेका छन् । उनले कृत्रिम हातका औँला अर्को हातले चलाइरहेका थिए । उनको मुहारमा खुसीको रङ भर्ने काम ई–नेबल संस्थाले गरेको हो । ९थ्रिडी प्रोस्थेटिक० कृत्रिम हात लगाएपछि छोरोको मुहारमा हेर्दै उनका बुबा मेघराज पनि मुस्कुराइरहेका थिए ।

पढाइमा एन्सन राम्रै छन् । तर, बाबु मेघराजलाई छोरो राम्रै मात्र नभएर उत्कृष्ट हुनुपर्छ भन्ने छ । बुबा भन्छन्, ‘एन्सनले आफ्नो एउटा हत्केला नभएकाले मैले पढाइमा मिहिनेत गर्नुपर्छ भन्ने बुझेको छ, त्यसैले पढाइमा ध्यान दिन्छ ।’ एन्सन उनका बुबा र फुपाजुसँग नोबेल हस्पिटलमा कृत्रिम हात लगाउन आएका थिए । फुपाजुसँग धेरै समय बसिरहेका, लाडिइरहेका थिए । बुबाभन्दा फुपाजुसँग बढी झ्यामिएको देखेर जिज्ञासा राख्दा बाबुले भने, ‘म पढाइमा अलि कडा गर्छु । त्यही डरले अरूवेला पनि मसँग नजिक हुन खोज्दैन ।’ हात लगाएसँगै उनलाई नजिकमा रहेको पानीको बोतल उठाउन लगाइयो । उनले बोतल उचालेसँगै सबैले ताली बजाए । थप हौसिँदै उनले अरू बोतल पनि उठाउन थाले । ई–नेबल संस्थाका पदाधिकारीले बाबु मेघराजलाई कृत्रिम हात पानीमा भिजाउन तथा तातो घाममा पनि राख्न नहुने सम्झाइरहेका थिए । उता एन्सन भने साइकल कुदाउन उत्साहित थिए । साइकल चलाउन सहज हुने भए पनि गह्रौँ चिज उठाउन नसकिने संस्थाकी शिक्षा गौतमले बताइरहेकी थिइन् ।

मोरङ आमगाछीका १५ वर्षीय सिलन हस्ता पनि त्यस्तै कृत्रिम हात लगाउन त्यहाँ आएका थिए । डेढ वर्षअघि इँटाभट्टामा काम गर्ने क्रममा माटो मुछ्ने मेसिनले उनको दाहिने हात काट्यो । कक्षा सातको वार्षिक परीक्षा दिएर बिदाको समयमा बुबा मंगल हस्तासँगै काठमाडौं आएका थिए । इँट्टाभट्टामा काम गरेर परिवार पालिरहेका मंगललाई छोरोको हुर्काइसँगै पछि कमाउला र जीवनयापन सहज होला भन्ने ठूलो आशा र भरोसा जोडिएको थियो । मोरङमा नै ज्यालादारी गरेर परिवार पालिरहेका मंगल थप केही होला कि भन्ने आसले ०७२ सालमा उपत्यका छिरे । आएदेखि भक्तपुरको जगातीका विभिन्न इँट्टाभट्टामा काम गरिरहेका छन् ।