लोकसभा चुनाव : अमित शाह र राहुल गान्धीको भाग्य फैसला आज

100

वैशाख १०,
काठमाडौं । भारतीय लोकसभा चुनावको तेस्रो चरणमा मंगलबार १३ राज्य र केन्द्रबाट शासित २ प्रदेशमा मतदान सुरु भएको छ। १ सय १७ लोकसभा सिटका लागि हुने आजको निर्वाचनमा गुजरात, केरला, महाराष्ट्र र कर्नाटकको ७४ सिटलाई भने महत्वपूर्ण मानिएको छ। सबै १ सय १७ सिटका लागि १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये ३ सय १४ उम्मेदवार राष्ट्रिय दलबाट, ७६ जना क्षेत्रीय दलबाट, ४ सय ९२ जना गैर मान्यता प्राप्त दलबाट र ७ सय १२ जना स्वतन्त्र उम्मेदवार रहेको भारतको चुनाव आयोगले जनाएको छ।

मतदान स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको छ। सो क्रम साँझ ५ बजेसम्म चल्नेछ। यो चरणमा गुजरात (२६ सिट), केरला (२० सिट), कर्नाटक (१४ सिट), महाराष्ट्र (१४ सिट), गोवा (२ सिट), आसाम (४ सिट), बिहार (५ सिट), ओडिसा (६ सिट), उत्तर प्रदेश (१० सिट), छत्तीसगढ (७ सिट), पश्चिम बंगाल (५ सिट), दमन र दिव (१ सिट), दादर नागर हवेली (१ सिट) र जम्मू–काश्मीर (१ सिट) मा मतदान भइरहेको छ।

मंगलबारको चुनावमा विशेषगरी प्रमुख २ दल सत्तारुढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्ष भारतीय कांग्रेस दुबैका लागि महत्वपूर्ण छ। आजैका दिन दुबै पार्टीका प्रमुखको चुनावी भविष्यबारे निर्क्योल हुनेछ। बिजेपी अध्यक्ष अमित शाह गुजरातको गान्धीनगरबाट र कांग्रेस अध्यक्ष राहुल गान्धी वायनाड संसदीय क्षेत्रबाट चुनावी लड्दैछन्। भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले पनि आजै आफ्नो मताधिकार सुरक्षित गरिसकेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अहमदावादस्थित मतदान केन्द्रमा मोदी आफ्नी नातिनीका साथमा देखिएका थिए। सो क्रममा उनको साथमा बिजेपी अध्यक्ष शाहसमेत सँगै थिए।

गृहनगर पुगेका बेला उनले आफ्नी आमालाई समेत भेटेका छन्। गत अप्रिल ११ बाट सुरु भएको निर्वाचन ७ चरण पार गर्दै मे १९ मा सकिँदैछ। चुनावको मतगणना भने मे २३ बाट सुरु हुनेछ।