गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कामले निराशालाई बदल्दै आशामा

85

वैशाख १०,
काठमाडौं। दुई दशकदेखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना चार महिनादेखि ठप्प छ। यो आयोजनाको निर्माण कहिलेबाट सुरु हुन्छ अत्तोपत्तो छैन। सुरुङमार्ग छिचोलिएर फिनिसिङसँगै उपत्यकामा पाइप गाड्ने काम सकिनै लाग्दा एकाएक मेलम्ची खानेपानी अनिश्चित बन्यो। काठमाडौंको बौद्ध-जोरपाटीको बाटो निर्माण सुरु भएको तीन वर्षसम्म पनि पूरा भएको छैन। अहिले पनि पानी पर्दा हिलो र घाम लाग्दा धुलैधुलोले वायुमण्डल ढाक्छ।

राजधानीको लाइफलाइनकै रुपमा रहेको कलङकी-नागढुंगाको बाटो चार बर्ष पूरा हुन लाग्दा समेत कालोपत्रे सकिएको छैन। विकास निर्माणमा देखिएको ढिलासुस्ती र त्यसले जनताप्रति चरम निराशाले छोपेको छ।

राष्ट्रिय गौरबका कतिपय आयोजनाको अवस्था दयनीय छ। मुआब्जा वितरणको कामसमेत नभएर पैसा फ्रिज भइरहेको छ। यो निराशाको कालो बादलभित्र त्यस्ता केही आयोजनाको प्रगतिले भने उत्साहित बनाउँछ। ती आयोजनाले निराशाको बादल हटाएर विकासको उज्यालोको संकेत समेत गरेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको एक्सिलेटरले सबैलाई उत्साहित बनाइदिएको छ। एक वर्ष अघिसम्म मुआब्जा बाँडिरहेको पोखरा विमानस्थलले धावनमार्गको काम सकिसकेको छ। दुई वर्षअघि स्थानीय र चिनियाँ ठेकेदारको विवादका कारण आयोजना नै अनिश्चित बन्ने अवस्थामा पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७० प्रतिशत सकिएको छ। पोखरा विमानस्थल निर्माणको डेडलाइन तोकेकोभन्दा एक वर्ष अघिनै सकिदैछ। विकासको सुस्त गति देखिरहेका हाम्रा लागि यो मिराकलनै हो।

एक वर्षमै परियोजनामा रनवे बनाउने काम कसरी सम्भव भयो?

नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरब परियोजनाका निर्देशक प्रदीप अधिकारी विमानस्थल निर्माणका लागि छानिएको ठेकदार राम्रो परेकाले काम छिटो भएको बताउँछन्।

‘कुनै पनि परियोजना सुरु गर्नुअघि ठेकेदार कम्पनी राम्रो भयो भने सहजै हुन्छ। ठेकेदारले काम गरेन भने मुद्दा मामिलामा जान्छ र परियोजनानै अनिश्चित बन्ने अवस्था पनि आउँछ। यो आयोजनाको ठेकेदार कम्पनी राम्रो भएकाले समेत हामीले सोचेभन्दा राम्रो काम गर्न सकेका हौं’ उनले बिजमाण्डूसँग भने, ’प्राधिकरणको नेतृत्वले समेत प्राथमिकतामा राखेर काम गर्यो।’

यो विमानस्थलको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कर्पोरेशन(सिएमसी) हो। उनका अनुसार परियोजनामा स्थानीय राजनीतिक दल र जनताको पूर्ण सहयोग रह्यो।

‘हामीले धेरै आयोजना वर्षौसम्म अघि नबढेको देखेका छौं। ती आयोजना असफल हुनुमा परिययोजना प्रमुख वा सरकार असफल भनेर हेर्छौं। तर त्यो आयोजना सफल वा असफल बनाउने भनेको स्थानीय राजनीतिक दल र जनताले हो। उहाँहरुको यो आयोजना चाँडै बन्नुपर्छ भन्ने हुटहुटी छ। उहाँहरुको सबैभन्दा ठूलो सहयोगले समेत आयोजनाले राम्रो प्रगति गरेको हो’ अधिकारीले भने।

कहिले संचालनमा आउँछ?
पोखरा विमानस्थल सन् २०२० भित्रै निर्माण सकिनेछ। सन् २०२१ भित्रै यो विमानस्थल संचालनमा ल्याउने गरि काम भइरहेको छ। प्राकृतिक विपत्ति वा अरु कुनै समस्या नआएमा डेढ वर्षभित्रै निर्माण सकिने अधिकारी बताउँछन्।

‘परियोजनाहरु राम्रा हुन्छन्। तर कार्यान्वयन फितलो हुन्छ। हामीले अहिलेसम्म सय खुड्किलोमध्ये ३५ वटा चढिसकेका छौं। अझै ६५ वटा खुड्किला चढ्न बाँकी छ’ उनले भने,’प्राकृतिक प्रकोप र नाकाबन्दी जस्ता भबितब्य नआएमा तोकिएकै समयमा यो विमानस्थल संचालनमा आउँछ। र, हामी त्यही गतिमा काम गरिरहेका छौं।’

 

भैरहवामा पनि मिराकलनै
डेढ वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारमा नेकपाका नेता झलनाथ खनालका छोराको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिले भाँजो हाल्यो।

झलनाथ पुत्र निर्भिक चित्रकारको कम्पनी र आयोजनाको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनबीचको विवादले चर्मोत्कर्षमा पुग्यो।

ठेकेदार कम्पनीको विवादका कारण आयोजनानै अनिश्चित बन्ने अवस्थामा आयो। विमानस्थल निर्माण सुस्त भएको भन्दै  एसियाली विकास बैंक  (एडीबी) ले २०१७ डिसेम्बर १९ मा नेपालस्थित आवासीय मिसन प्रमुख मुख्तोर खामुदखानोभले प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलार्इ पत्र पठाउँदै यस्तै प्रगति रहे थप ऋण लगानी गर्न नसकिने चेतावनी दिए।

त्यही बेलामा प्राधिकरणले एडीबीले पैसा नदिए आफ्नै स्रोतबाट विमानस्थल निर्माण गर्ने प्रकृया अघि बढायो। एडीबीले चिठ्ठी पठाउँदा आयोजनाको काम मात्रै २७ प्रतिशत भएको थियो।

विमानस्थल निर्माणकै क्रममा रोकिने अवस्था पुगेपछि उच्च राजनीतिक तहबाटै लफडा सल्टाउन प्रयास भयो। दुबै ठेकेदारको विवाद साम्य भयो। र, विमानस्थलको व्यवस्थापकीय समूह नै परिवर्तन गरियो। यो परियोजनाको प्रमुखमा गए प्रवेश अधिकारी। अधिकारी गएपछि कामले गति लिन थाल्यो। पैसा नै नदिने चेतावनी दिएको एडीबीले कामको गति देखेपछि निरन्तरता दियो।

आयोजना तोकिएकै समयमा कसरी पूरा गर्ने?
कुनै पनि परियोजना सम्भव बनाउन तीन वटा महत्वपूर्ण फ्याक्टर हुने प्रदीप बताउँछन्। ‘क्लाइन्ट, कन्सल्ट्यान्ट र कन्ट्रयाक्टर आयोजनाको तीन वटा पिल्लर हुन्। योभन्दा वाहिर वर्किङ इकोलोजी हुन्छ’ उनले भने, ’काम गर्ने वातावरणले सर्पोट गरेन भने तीनवटै खम्बा अगाडि बढ्न सक्दैन्।’

उनले एकै व्यक्तिले आयोजनालाई सफल बनाउन नसक्ने बताउँछन्। ‘आयोजना वान म्यान आर्मीले गर्न सक्दैन्। संगठनको संचरना चुस्त दुरुस्त बनाउनुपर्छ। र, आयोजना प्रमुखलाई काम गर्नका लागि आवश्यक अधिकार दिनुपर्छ’ अधिकारीले भने।

उनी ठूला आयोजनाका लागि खरीद ऐनसमेत लचिलो चाहिने बताउँछन्। ‘राष्ट्रिय गौरबको आयोजना भन्ने तर खरीद ऐन एउटै हुने कसरी प्रभावकारी हुन्छ। वनको समस्याले कुनै पनि आयोजना अघि बढाउन सकिने अवस्था छैन। ऐन नियमले समेत विकास अघि बढ्न सकेको छैन’ उनले भने। उनले कुनै पनि आयोजना विरुद्धमा लाग्नेलाई थुन्ने व्यवस्था हुनुपर्ने बताउँछन्।

‘हामीलाई विकास चाहिएको छ। तर यहाँ विकासलाई रोक्न विभिन्न तहमा हस्तक्षेप हुन्छ। जबसम्म विकास निर्माणमा अवरोध गर्नेलाई थुन्ने व्यवस्था हुँदैन तबसम्म हामीले चाहेको विकास गर्न सम्भव हुँदैन’ उनले भने। Source: Bizmandu