फिलिपिन्समा फेरि भूकम्पको धक्का, मृतकको संख्या ११ पुग्यो

82

वैशाख १०,एजेन्सी
मनिला -मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो । उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन।

यसैबीच, सोमबारको भूकम्पबाट मारिने व्यक्तिको संख्या ११ पुग्नुका साथै २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरूले बताएका छन्। निकै ठूलो जनधनको क्षति गरेको उक्त भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने बताइएको छ।राजधानी मनिलाको उत्तरी प्रान्त पाम्पान्गाको पोराक सहरमा भवनहरू र अरु संरचना भत्किएका छन्। उक्त सहरमा सुरक्षाकर्मी एवं स्थानीयले रातभर उद्धारका काम गरेका छन्। भूकम्पको परकम्प ४०० पटकभन्दा बढी अनुभव गरिएको छ।

अमेरिकी भौगर्भिक सर्वेको प्रारम्भिक अनुमान अनुसार भूकम्पबाट करिब चार करोड ९० लाख मानिस प्रभावित भएका छन्। राजधानी मनिलामा समेत धक्का महशुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर सोमबार ५।७ म्याग्निच्यूडको भूकम्पका कारण भवनहरू भत्किएको स्थानीय अधिकारीले बताएका छन्।

क्षतिका विवरणहरू प्राप्त हुने क्रम जारी रहेको बताउँदै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ।साँझको समयमा आएको भूकम्पका कारण सहरी क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुँदा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित बनेको उनले बताए। (रासस-एपी)