कप्तान पारसको आग्रहलाई मन्त्रीको वेवास्ता !

92

वैशाख १९,
काठमाडौ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को विवाद अन्त्य गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग छलफल गर्न सरकारलाई आग्रह गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा कप्तान पारसले लामो समयदेखि क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटले थप उचाई लिन नसकेको गुनासो गरे । उनले भने, ‘मन्त्रीज्यू र सदस्यसचिवज्यूबाट आईसीसीसँग कुरा गरेर फुकुवा गर्नुपर्‍यो । हामीले धेरै कुरा गुमाइसकेका छौं ।’ ‘हाम्रो एकदिवसीय मान्यतालाई टिकाई राख्न क्यान आउनुपर्छ । हामीले अझ धेरै माथि पुग्नुछ ।’

पारसपछि सम्बोधन गरेका मन्त्री जगतबहादुर विश्वकर्माले भने त्यसबारे केही बोलेनन् ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने छलफल भइरहेको जानकारी दिए । ‘क्यान निलम्बनको विषयमा हामीले छलफल गरिरहेका छौं । यो विषयमा प्रधानमन्त्रीज्यूबाट पनि चासो राख्नु भएको छ । अब हामी चाडै तपाईहरुसँग बसेर छलफल गर्नेछौं’ उनले भनेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेको तीन वर्ष नाघिसक्यो । यो बीचमा खेलाडीहरुले एकपछि अर्को सफलता पाए । नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता पाएको पनि एक वर्ष नाघिसक्यो तर, क्रिकेट संघको विवाद अझै समाधान भएको छैन ।

क्यान नहुँदा घरेलु संरचना बन्न सकेको छैन भने अन्तराष्ट्रिय म्यानहरु पनि गराउने अवसर गुमेको छ । नेपालले पछिल्लो पटक गत फेब्रुअरीमा यूएईसँग एकदिवसीय र टी–२० सिरिज खेलेको थियो ।

त्यसपछि यूएईले जिम्बाब्वेसँग सिरिज खेलिसक्यो तर, नेपालका खेलाडीहरु फुर्सदिला छन् । अब अर्को खेल कहिले हुने कुनै टुंगो छैन ।

क्यान नभएकै कारण यस्तो भएको नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा बताउँछन् । ‘मुख्य कुरा भनेको क्यान हो । क्यान भएको भए सबै हुन्थ्यो’ उनले भने, ‘यूएईले हामीपछि अर्को सिरिज खेलिसक्यो, हामीले भने आईसीसीलाई प्रपोजल हाल्नुपर्छ ।’Source: Onlinekhabar