महानगरले शैक्षिक शुल्क वृद्धि फिर्ता लिए पनि विद्यालयले टेरेनन्

147

बैशाख २०,
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुल्क वृद्धि फिर्ता लिने निर्णय गरे पनि महानगरभित्रका विद्यालयहरूले वास्ता गरेका छैनन् । गत फागुनमा गरेको ६० प्रतिशतसम्म गरिएको शुल्क वृद्धि १२ वैैशाखमा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले फिर्ता लिने निर्णय गरेको थियो ।
शुल्क वृद्धिको चर्को विरोधपछि महानगरपालिकाले शिक्षा ऐन र विद्यालय शिक्षा व्यवस्थापन नियमावली–२०७४ अनुसार शुल्क निर्धारणको अधिकार नगर कार्यपालिकामा मात्र भएको भन्दै यसअघि समितिले गरेकोे निर्णय खारेज गरेको थियो ।

तर महानगरको शिक्षा समितिले यसअघिको आफ्नो निर्णय सच्याउँदासम्म सबै विद्यालयले वृद्धि भएको शुल्क लागू गरिसकेका थिए । अहिले भने विद्यालयहरूले महानगरपालिकाबाट शुल्क वृद्धि फिर्ता लिएको पत्र नआएको भन्दै अभिभावक र विद्यार्थीसँग वृद्धि भएकै शुल्क लिइरहेका छन् ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख निर्मला केसी भने शुल्क वृद्धि फिर्ताको निर्णय तत्काल कार्यान्वयन गर्नु गराउनु भनेर गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरिसकेको बताउँछिन् । उनका अनुसार यसअघि विद्यालयहरूलाई शुल्क वृद्धि गर्नु भनेर महानगरले पत्राचार गरेको पनि थिएन ।

‘शुल्क बढाउन हाम्रो पत्र नचाहिने, वृद्धि फिर्ता लिन पत्र पर्खेर बसेको भन्न पाइँदैन’, शिक्षा विभाग प्रमुख केसीले अनलाइनखबरसँग भनिन्, ‘गोरखापत्रमा प्रकाशित सूचनाको आधारमा विद्यालयले शुल्क वृद्धि फिर्ता लिनुपर्छ ।’