प्रदेश १ को स्थायी राजधानी विराटनगरः नामाकरण हुन बाकीँ

504

वैशाख २३, विराटनगर । प्रदेश १ को स्थायी राजधानी मोरङको औद्योगिक नगरी विराटनगरलाई सर्वसम्मतरुपमा घोषणा गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो । स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने चर्चा चले पनि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्न सम्भव भएको हो । प्रदेश सभाको सोमबारको बैठकमा ६ जना सांसदहरु भने अनुपस्थित थिए । प्रदेश १ मा कुकल ९२ जना प्रदेशसभा सदस्यहरु छन् । तीमध्ये ८६ जनाको उपस्थितिमा स्थायी राजधानी विराटनगरलाई राख्ने प्रस्ताव पारित भएको प्रदेश सभाले जानकारी दिएको छ ।

विराटनगरलाई स्थायी राजधानी तोकिए पनि विराट क्षेत्रको अवधारणा अनुसार संसद र कार्यपालिकाका कतिपय संरचना इटहरी र गोठगाउँसमेतलाई समेटेर बनाइने प्रस्ताव नेकपाले संसदमा लगेको थियो । प्रदेशको स्थायी राजधानी पारित भए पनि प्रदेशको नाम भने तय भएको छैन । नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ । प्रदेशको राजधानी धनकुटा वा धरान हुनुपर्ने भन्दै नेकपा र कांग्रेसका केही सांसदहरुले माग गर्दै आएका थिए । अन्ततः उनीहरु पनि विराटनगरलाई राजधानी मान्ने प्रस्तावमा सहमत भएका छन् । यता विराटगरबासीहरुले विराटनगरमै सबै प्रशासनिक संरचनाहरु राख्नुपर्ने माग गर्दै सोमबार विराटनगर बन्दको समेत घोषणा गरेका थिए । -onlinekhaabr