राजधानीको विषय टुङ्गो नलगाएसम्म प्रदेशसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको चेतावनी

83

बैशाख ३०,
हेटौंडा । प्रदेश–३ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थायी राजधानीको विषयलाई टुङ्गो नलगाएसम्म प्रदेशसभाको बैठक सञ्चालन हुन नदिने चेतावनी दिएको छ । प्रदेश–३ को सोमबार बसेको वर्षे अधिवेशनको पहिलो बैठक अवरुद्ध पारेको कांग्रेसले राजधानीको विषयलाई थाती राख्ने काम गरे बैठक चल्नै नदिने बताएको हो । राजधानीको विषयलाई कार्यसूचिमा नराखेको भन्दै सोमबार कांग्रेसले बैठक सञ्चालन हुन नदिएपछि स्थगित गरिएको थियो । प्रदेश–३ को बैंठक पहिलोपटक अवरुद्ध भएको हो । यो सँगै सत्ता पक्ष र प्रतिपक्षबीच विवाद सुरु भएको छ ।

वर्षे अधिवेशनको पहिलो दिन सभामुख सानुकुमार श्रेष्ठले कृषि मन्त्री दावा लामालाई जलचर संरक्षण सम्वन्धी विद्येयक पेश गर्न भनेपछि प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले आपत्ती जनाएका थिए । उनले राजधानीको विषयलाई कार्यसूचिको पहिलो नम्बर राख्न सभामुखलाई आग्रह गरेका थिए । तर सभामुख श्रेष्ठले मन्त्रीलाई विद्येयक पेश गर्न भनेपछि कांग्रेसका सांसदले उठेर विरोध जनाए । सभामुखले पटकपटक आग्रह गर्दापनि कांग्रेस सांसदहरु नबसेपछि मंगलबार दिउँसो चार बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बैठकपछि प्रतिक्रिया दिंदै नेता बानियाँले सरकारले हिउँदे अधिवेशनबाट स्थायी राजधानीको समस्या समाधान गर्ने भने पनि चासो नदिएकाले बाध्य भएर बैंठक अवरुद्ध गर्नु परेकोे बताए । पटकपटक सरकारले राजधानीको विषयमा झुट बोल्ने काम गरेको भन्दै उनले राजधानीको विषयलाई बैठकको कार्यसूचिको पहिलो नम्बरमा राखेर छलफल अगाडि नबढाएसम्म अवरोध कायम रहने जानकारी दिए ।

बजेट निर्माण गर्नु अघि राजधानीको विषय टुंगो लगाउनु पर्ने बानियाँको भनाइ छ । उनले सरकारको कामकै कारण बाध्य भएर बैठक अवरुद्ध पार्नु परेको बताए । ‘आगामी आर्थिक वर्षको बजेट अगाडि नै राजधानीको टुंगो लगाएको भए सरकारलाई नै काम गर्न सहज हुने र स्थायी मानसिकताले काम गर्दा प्रगति देखिने थियो । तर सरकारले राजधानीको विषयलाई बेवास्ता गरिरहेको छ । आफ्नै दुईतिहाइ हुँदा पनि राजधानी तोक्न सकस पर्नु दुःखद हो । हामी राजधानीको विषय समाधान गरेर मात्र अगाडि बढ्न चहान्छौं ।’, बानियाँले भने ।

मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनबाट राजधानीको टुंगो लाग्ने वचन संसदमा दिएपनि काम नुहुनुले संसदको गरिमामाथि नै प्रश्न उठ्न थालेको उल्लेख गरे । पटकपटक राजधानीको विषयलाई नजरअन्दाज गर्ने काम भएकाले अब अस्थायी मानसिकताको अन्त्य गर्नपनि यसको टुंगो लाग्नुपर्ने बानियाँको भनाइ छ । हिउँदे अधिवेशनमा नसकेपछि वर्षे अधिवेशनमा यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जाने सरकारको रवैया देखेपछि अवरुद्ध गर्नुको विकल्प नभएको उनले उल्लेख गरे ।

राजधानीको विषय प्रतिपक्षको मात्र होइन्ः मन्त्री जम्मरकट्टेल
प्रदेश–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले भने प्रतिपक्षले बैंठक अवरुद्ध गर्नुलाई संसदीय अभ्यास विपरीत, विधिसम्वत र न्यायिक रुपमा गलत रहेको प्रतिक्रिया दिए । उनले राजधानी तोक्ने विषय प्रतिपक्षको मात्र नभएको सबैको साझा विषय भएको बताए । राजधानीको विषयलाई टुंगो लगाउन सरकारले काम गरिरहेको जम्मरकट्टेललको भनाइ छ ।

प्रतिपक्षले गरेको विधिबाट प्रदेशको स्थायी राजधानी तोक्न नसक्ने उनले बताए । राजधानी कायम गर्ने विषय विधि र प्रक्रियाका हिसाबबाट प्रदेशसभाको भएपनि राजनीतिक विषयमा भरपर्ने मन्त्री जम्मरकट्टेलले उल्लेख गरे । यसलाई साझा विषय बनाएर समाधानको बाटोमा लैजानु पर्नेमा प्रतिपक्षले द्वन्द्व बढाउने अभ्यास सुरु गरेको उनले आरोप लगाए ।

वर्षे अधिवेशन प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्र पढेर सुरु गरिएको थियो । बैंठक अवरुद्ध हुनुअघि वर्षे अधिवेशनको शुभकामना व्यक्त गरिएको थियो । जसमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल, प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, नेमकिपाका सुरेन्द्रराज गोसाईं, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ र प्रदेशसभा सदस्य प्रेमबहादुर तामाङले मन्तव्य व्यक्त गरेका थिए ।Rajdhani national daily