९ महिनामा २८ वाणिज्य बैंकले कमाए ४५ अर्ब ६६ करोड खुद नाफा

77

-प्रत्येक अवाले ( नयाँ पत्रिका दैनिक)
बैशाख ३१, काठमाडौं । चालू आर्थिक आर्थिक वर्षको ९ महिनामा २८ वाणिज्य बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा २१ दशमलव ६५ प्रतिशत बढी हो । गत आवको ९ महिनामा बैंकहरूले ३७ अर्ब ५४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । बैंकहरूले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकहरूको नाफा बढेको हो ।

तेस्रो त्रैमाससम्म रकमका आधारमा सबैभन्दा धेरै नाफा राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ । समीक्षा अवधिमा बैंकले ३ अर्ब ४९ करोड ९३ लाख खुद नाफा आर्जन गरेको छ । सूचीकृत निजी वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकको रहेको छ । सो बैंकले चैत मसान्तसम्ममा ३ अर्ब १९ करोड १० लाख नाफा कमाएको छ । सबैभन्दा कम नाफा भने सिभिल बैंकको ४९ करोड ३८ लाख रहेको छ ।

सेवाग्राहीलाई आकर्षक योजनासहित आक्रामक व्यापार गरिरहेको एनआइसी एसिया बैंकको खुद नाफा गत आवको तुलनामा चालू आवको ९ महिनामा १ सय ४५ दशमलव ४१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा नेपाल बैंकको नाफा १२ दशमलव ५५ प्रतिशत घटेको छ । त्यसैगरी, सेन्चुरी कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा पनि समीक्षा अवधिमा ९ प्रतिशत घटेको छ ।

साढे ९३ अर्ब खुद ब्याज आम्दानी

चालू आवको तेस्रो त्रैमाससम्म २८ वाणिज्य बैंकहरूको खुद नाफा ९३ अर्ब ५० करोड ४३ लाख रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३३ दशमलव ९२ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकहरूको यस्तो आम्दानी ६९ अर्ब ८२ करोड रहेको थियो । सबैभन्दा बढी ब्याज आम्दानी गर्नेमा पनि राष्ट्रिय वाणिज्य बैंक नै अगाडि परेको छ । सो अवधिसम्ममा बैंकले ७ अर्ब ३७ करोड ९७ लाख खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

१ अर्ब ५७ करोड ३६ लाख खुद ब्याज आम्दानी गरेको सिभिल बैंक सबैभन्दा पछि परेको छ । वृद्धिदरका आधारमा भने मेगा बैंक नेपाल अगाडि छ । गत आवको चैतसम्म १ अर्ब ३० करोड ९ लाख रहेको खुद ब्याज आम्दानी गरेको बैंकले चालू आवको सोही अवधिसम्ममा १ सय ११ दशमलव ६० प्रतिशत वृद्धि गर्दै २ अर्ब ७५ करोड २७ लाख पुर्‍याएको छ ।

२२ प्रतिशत बढ्यो सञ्चालन मुनाफा

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिसम्ममा २८ बैंकहरूको सञ्चालन मुनाफा २२ दशमलव ३१ प्रतिशत बढेको छ । गत आवको चैत मसान्तसम्ममा बैंकहरूको सञ्चालन मुनाफा ५२ अर्ब ६५ करोड ७१ लाख रहेको थियो । समीक्षा अवधिमा भने सञ्चालन मुनाफा ६४ अर्ब ४० करोड ५१ लाख पुगेको छ ।

वितरणयोग्य मुनाफा ३० अर्ब ७० करोड

२८ वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा वितरणयोग्य मुनाफा ३० अर्ब ७० करोड १३ लाख पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा बढी वितरणयोग्य मुनाफा नबिल बैंकको रहेको छ । ३ अर्बभन्दा बढी नाफा कमाएको बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३२ करोड ४४ लाख रहेको छ ।