कार्टुन आउने वेबसाइटमा पोर्न भिडियो आउन थालेपछि…

169

एजेन्सी, बैशाख ३१,
काठमाडौँ । बालबालिकालाई सबैभन्दा मनपर्ने कार्टुन नेटवर्कका वेबसाइटहरु पनि अब ह्याकरको निशानामा पर्न थालेका छन् । हालै विभिन्न देशका कार्टुन नेटवर्कका वेबसाइटहरु ह्याक गरियो । ब्राजिलमा बस्ने दुईजना ह्याकरले बालबालिकाले कार्टुन हेर्ने वेबसाइट ह्याक गरेर पोर्न भिडियो प्रशारण गरेपछि विश्वका १६ देशमा हंगामा मच्चिएको छ । बेलायत तथा रुसमा हप्ताभर नै कार्टुन नेटवर्क ह्याक भयो । ह्याकरहरुले अफ्रिका, अरब, ब्राजिल, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, हंगेरी, इटाली, मेक्सिको, नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, रुस तथा टर्कीमा कार्टुन नेटवर्क ह्याक गरेका थिए । गत अप्रिल २५ मा त्यस्तो ह्याकिङ्गको खुलासा भएको थियो ।

ह्याकरहरुले कार्टुन नेटवर्कका भिडियोको ठाउँमा अरेबिक मिम्स, ब्राजिलियन हिप हप गीत मात्र होइन ब्राजिलियन नग्न नृत्यका अश्लील भिडियोहरु अपलोड गरेका थिए । कार्टुन नेटवर्कमा अश्लील भिडियो हेर्नु परेपछि आफ्ना बालबालिकालाई बचाउन अभिभावकहरुलाई हम्मे हम्मे परेको थियो । पछि कार्टुन नेटवर्कले वेबसाइटलाई बन्द गरी नयाँ भर्सन अपलोड गरेका थिए । तर त्यतिन्जेलसम्म ट्वीटरमा प्रयोगकर्ताले त्यस्ता भिडियो तथा फोटोका स्क्रिनसटहरु हालिसकेका थिए ।