संसदमा दर्ता भएका तीन ‘विवादित’ विधेयक फिर्ता लिन सरकारलाई कांग्रेसको आग्रह

102

जेठ १,
कांठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता भएका तीन वटा विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। संविधानका प्रावधानविपरीत हुने विधेयकहरूसरकारले सदनमा लगेको भन्दै कांग्रेसले विवादित बनेका ती सबै विधेयक फिर्ता लिन आग्रह गरेको हो। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारले विधेयकहरू फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

‘सरकारले ती विधेयकहरु संयमतापूर्वक फिर्ता गर्‍यो भने स्थिति सहज हुन्छ। जवरजस्ती विधेयकहरुलाई सदनमा पेश गर्न खोज्यो भने कांग्रेसले सदनभित्र र बाहिर सडकमा विधेयकविरूद्ध शक्ति परिचालन गर्नेछ,’ बैठकपछि खाँणले पत्रकारहरुसँग भने। सरकारले सदनमा लगेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार, मिडिया काउन्सिल र मानव अधिकारसम्बन्धी विधेयक संविधानको मर्म र भावना विपरीत भएकोले फिर्ता गर्न कांग्रेसले माग गरेको उनले बताए।

‘संविधान प्रतिकुल हुने गरी सरकारले विधेयक ल्याएको छ,’ उनले भने, ‘प्रेस स्वतन्त्रता, मानव अधिकार तथा नागरिक हक हनन हुने विधेयक सदनबाट फिर्ता लिनुपर्छ।’ स्वतन्त्र पत्रकारिता र लोकतन्त्र एकै सिक्काका दुई पाटा भएको भन्दै खाँणले कांग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सदैव रहेको उल्लेख गरे। ‘जुन मुलुकमा स्वतन्त्र पत्रकारिता बलियो हुन्छ त्यो मुलुकमा नागरिक पनि बलिया हुन्छन्,’ उनले भने, ‘मिडिया काउन्सिल विधेयक फिर्ता गरिनुपर्छ।’ प्रि-बजेट छलफल सकेपछि प्रतिनिधिसभा बैठक जेठ ६ गतेसम्मका लागि स्थगित छ। संसद खुलेपछि कांग्रेसले विधेयकलाई लिएर संसदमा आवाज उठाउने तयारी गरेको हो। Setopati