एमालेका नेतालाई लाइन लाएर प्रधानमन्त्री मैले बनाएको हुँ :प्रचण्ड

76

जेठ १,
काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् । तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसको प्रमुख अतिथी बन्ने मौका पाएका प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको दावी गरे ।

मन्च र दर्शकदीर्घामा पूर्वएमाले समर्थित नेता कार्यकर्ताको खचाखच भीडलाई सम्बोधन गर्दै उनले आफू समय अनुसार चल्ने नेता भएको समेत प्रष्ट पारे । उनले आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै आफूलाई साथ दिन तत्कालिन एमालेका नेता कार्यकर्तालाई आह्वान गरे । प्रचण्डले भने–माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो,उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।

केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघिनै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ।’ अध्यक्ष प्रचण्डले युवाहरुको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेरमात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे । उनले पार्टी एकीकरणको बाँकी काम तत्कालै टुंगो लाग्नेसमेत बताए । जनवर्गीय संगठनको एकीकरण जेठ ३ मै सम्पन्न गर्न आफूले अर्का अध्यक्ष केपी ओलीसँग छलफल गर्ने बताए ।