फरार अभियुक्त पक्राउ

293

जेठ ४, सर्लाही । प्रहरीले खुनडाँका, संगठित अपराध र किर्ते मुद्दामा फरार रहेका सर्लाही लालबन्दी नगरपालिका २ बस्ने ४५ वर्षीय संजिव पासवानलाई पक्राउ गरेको छ । सर्लाही, महोत्तरी, सिन्धुली, सिराहा र रुपन्देहीमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही, ईलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुर समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।
२०७४ असोज २४ गते सर्लाही हरिपुर नगरपालिका-९ स्थित कविलासी नगरपालिका-२ बस्ने सुनिल साहलाई गोली हानी हत्या गरी ७ लाख ५९ हजार ३ सय ७५ रुपैयाँ बराबरको धनमाल डाँका गरेको मुद्दामा फरार रहेका पासवान समेतले २०७५ मंसिर २० गते सर्लाही ईश्वरपुर नगरपालिका-१३ स्थितबाट हरिपुर नगरपालिका-७ बस्ने धनेश्वर महतोको साथबाट नगद ९ लाख ९० हजार रुपैयाँ लुटपाट गरी फरार भएका थिए । यसैगरी सवारी चालक अनुमती पत्र किर्ते गरेको अभियोगमा फरार रहेका पासवान मोहत्तरीका विभिन्न स्थानबाट २४ लाख ४ हजार डाँका घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ । साथै सिन्धुलीमा २ लाख ५७ हजार रुपैयाँ र सिराहामा ४ लाख ३१ हजार ९ सय रुपैयाँ डाँका भएको घटनामा समेत पासवान संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।